मधेशसमाचार

घरदैलो अभियान औपचारिक रूपमा शुभारम्भ

बिष्णु राम

वीरगंज, १० माघ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की निर्वाचन क्षेत्र नं. २ की उम्मेदवार विना जैसवाल कुर्मीले आजदेखि औपचारिक रूपमा घरदैलो कार्यक्रमको शुभारम्भ गरेकी छन्। उनले वीरगंज महानगरपालिका वडा नं. २५ अन्तर्गत श्रीसिया टोलबाट घरदैलो अभियान सुरु गर्दै टोल–टोलमा पुगेर स्थानीय जनतासँग प्रत्यक्ष भेटघाट गरेकी हुन्।

घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार कुर्मीले स्थानीय बासिन्दाको दैनिकी, समस्या र अपेक्षाबारे नजिकबाट जानकारी लिइन्। उनले जनतासँग प्रत्यक्ष संवाद गर्दै शिक्षा र स्वास्थ्य सेवाको अवस्था, युवाहरूको बढ्दो बेरोजगारी, बालविवाह, महिला सशक्तीकरण तथा सामाजिक विकृतिजस्ता विषयमा गम्भीर चासो व्यक्त गरिन्।

स्थानीय बासिन्दाहरूले शिक्षा क्षेत्रमा गुणस्तरीय विद्यालय र दक्ष शिक्षकको अभाव, स्वास्थ्य क्षेत्रमा पर्याप्त सुविधा नहुनु, रोजगारीको अवसर नपाएर युवाहरू वैदेशिक रोजगारीमा जान बाध्य हुनुपरेको अवस्था तथा अझै पनि कतिपय ठाउँमा बालविवाह जस्ता सामाजिक समस्याहरू विद्यमान रहेको गुनासो राखेका थिए।

उम्मेदवार कुर्मीले जनताका गुनासोहरू ध्यानपूर्वक सुन्दै आफू निर्वाचित भएमा यी सबै विषयलाई प्राथमिकतामा राखेर संसदमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरिन्। उनले भनिन्, “जनताको समस्या नै मेरो एजेन्डा हो। शिक्षा, स्वास्थ्य र रोजगारी बिना समृद्ध समाज सम्भव छैन। सामाजिक कुरीतिविरुद्ध पनि सशक्त रूपमा पहल गरिनेछ।”

घरदैलो कार्यक्रममा राप्रपाका स्थानीय नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। आगामी दिनहरूमा निर्वाचन क्षेत्र नं. २ का अन्य वडाहरूमा समेत घरदैलो कार्यक्रमलाई निरन्तरता दिने उम्मेदवार कुर्मीको तयारी रहेको बताइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button