
कलैया , ०७ जेठ
राष्ट्रिय स्वतन्त्र पार्टीका बारा जिल्लाका विवादित नेता तथा पूर्व जिल्ला संयोजक चन्दन स्वर्णकार अन्ततः पार्टीबाट निष्कासित भएका छन्। लामो समयदेखि पार्टीभित्र आन्तरिक विवाद, अनुशासनहीन गतिविधि र नेतृत्वविरुद्ध खुलेआम अभिव्यक्ति दिँदै आएका स्वर्णकारमाथि केन्द्रीय तहले कठोर कारबाही गर्दै साधारण सदस्य समेत नरहने गरी सदस्यता खारेज गरेको हो।
रास्वपाको केन्द्रीय संगठन विभागद्वारा जारी गरिएको आधिकारिक पत्रमा केन्द्रीय अनुशासन आयोगको सिफारिसअनुसार २०८३ वैशाख ३० गते बसेको केन्द्रीय समितिको बैठकले स्वर्णकारको सदस्यता खारेज गर्ने निर्णय गरेको उल्लेख गरिएको छ। उक्त पत्रमा संगठन विभागका सचिव शङ्कर श्रेष्ठको हस्ताक्षर रहेको छ।
पार्टी स्रोतका अनुसार स्वर्णकार लामो समयदेखि संगठनभित्र विवादित पात्रका रूपमा चिनिँदै आएका थिए। पार्टीको आधिकारिक निर्णयविपरीत गतिविधि गर्ने, नेतृत्वविरुद्ध सार्वजनिक रूपमा असन्तुष्टि पोख्ने, गुटगत राजनीति चलाउने तथा जिल्ला तहमा समानान्तर शक्ति निर्माण गर्ने प्रयास गरेको आरोप उनीमाथि लाग्दै आएको थियो। केन्द्रीय नेतृत्वले पटक–पटक सचेत गराउँदा पनि व्यवहारमा सुधार नआएपछि अन्ततः निष्कासनको निर्णय गरिएको स्रोतको दाबी छ।
रास्वपाको स्थापना कालदेखि नै बारामा संगठन निर्माणमा सक्रिय रहेका स्वर्णकारले आफूलाई “संस्थापक नेता” भनेर प्रस्तुत गर्दै आएका थिए। तर पछिल्लो समय उनले पार्टीभित्र व्यक्तिगत प्रभाव कायम राख्न नेतृत्वलाई चुनौती दिने शैली अपनाएको आरोप कार्यकर्तामाझ समेत चर्चामा थियो। जिल्ला तथा प्रदेश नेतृत्वसँग उनको सम्बन्ध चिसिँदै गएपछि पार्टीभित्रै उनको भूमिकामाथि प्रश्न उठ्न थालेको थियो।
पार्टीभित्र अनुशासन उल्लंघनका विषयमा यसअघि पनि उनीमाथि स्पष्टीकरण मागिएको बताइएको छ। तर उनले केन्द्रीय निर्देशनलाई बेवास्ता गर्दै आफ्नै ढंगले गतिविधि सञ्चालन गरेको तथा संगठनलाई कमजोर बनाउने खालका अभिव्यक्ति दिएको आरोप पार्टीभित्रबाटै उठ्दै आएको थियो।
रास्वपाले पछिल्लो समय संगठन सुदृढीकरण र अनुशासन कायम गर्ने अभियानलाई तीव्र बनाइरहेका बेला स्वर्णकारमाथिको कारबाहीलाई “कडा सन्देश” का रूपमा हेरिएको छ। पार्टी नेतृत्व निकट स्रोतका अनुसार “व्यक्तिगत स्वार्थभन्दा संगठन ठूलो हो” भन्ने सन्देश दिन यो निर्णय गरिएको हो।
स्वर्णकारमाथिको कारबाहीपछि बाराको रास्वपा राजनीति थप तरंगित बनेको छ। केही कार्यकर्ताले उनको निष्कासनलाई “ढिलै भए पनि आवश्यक कदम” भनेका छन् भने स्वर्णकार निकट समूहले भने नेतृत्वले फरक मत दबाउन खोजेको आरोप लगाउन थालेका छन्।



