
बारा, ७ जेठ
“समृद्ध स्थानीय तहको आधार नै सही नेतृत्व हो” भन्ने सन्देशसहित युवा नेता उमेश दुबेले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको धारणा यतिबेला फेटा गाउँपालिका क्षेत्रमा व्यापक चर्चाको विषय बनेको छ । स्थानीय तहको विकास, सुशासन, शिक्षा, स्वास्थ्य र युवाको भविष्यसँग जोडिएका विषयलाई प्राथमिकतामा राख्दै उनले व्यक्त गरेको विचारलाई स्थानीय युवाहरूले सकारात्मक रूपमा लिँदै सामाजिक सञ्जालमा व्यापक रूपमा सेयर तथा समर्थन जनाउन थालेका हुन् ।
पछिल्लो समय फेटा गाउँपालिकामा सक्रिय सामाजिक अभियन्ताका रूपमा परिचित बन्दै आएका दुबे विगत करिब तीन वर्षदेखि निरन्तर समाज सेवामा सक्रिय रहँदै आएका छन् । विभिन्न सामाजिक अभियान, जनसहयोग, शिक्षा तथा स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरूमा प्रत्यक्ष सहभागिता जनाउँदै आएका उनले स्थानीय जनतासँग नजिक रहेर काम गरिरहेको भन्दै समर्थकहरूले प्रशंसा गरिरहेका छन् । युवामाझ लोकप्रिय बन्दै गएका दुबेले यसपटक “जनता सरकार” अभियानलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने संकेत गरेका छन् ।
उनले आफ्नो फेसबुक स्टेटसमा लेखेका छन्, “स्थानीय तहको वास्तविक विकास भाषणले होइन, जनताको जीवनमा आएको सकारात्मक परिवर्तनले मापन हुन्छ । सहज सेवा, गुणस्तरीय शिक्षा, स्वास्थ्य, राम्रो सडक र युवाको उज्ज्वल भविष्यका लागि असल, इमान्दार र जनताको भावना बुझ्ने नेतृत्व आवश्यक छ । आदरणीय फेटा गाउँपालिकावासीहरूमा म उमेश दुबे नमन गर्दै भन्छु — समृद्ध स्थानीय तहको आधार नै सही नेतृत्व हो ।”
दुबेले व्यक्त गरेको धारणा अहिले विशेषगरी युवापुस्तामाझ आकर्षणको केन्द्र बनेको देखिन्छ । स्थानीय स्तरमा बढ्दो बेरोजगारी, शिक्षा क्षेत्रमा देखिएका चुनौती, स्वास्थ्य सेवाको पहुँच र पूर्वाधार विकासको विषयमा जनताले अनुभूति गर्ने गरी काम गर्न सक्ने नेतृत्व आवश्यक रहेको उनको भनाइलाई धेरैले समर्थन गरिरहेका छन् ।
स्थानीय युवाहरूका अनुसार अहिलेको समय भाषणभन्दा काम गर्ने नेतृत्वको खोजी गर्ने समय हो । जनताको दुःख–सुखमा साथ दिने, पारदर्शी ढंगले काम गर्ने र विकासलाई व्यवहारमा उतार्न सक्ने नेतृत्वको आवश्यकता महसुस भइरहेका बेला दुबेले उठाएका मुद्दा जनभावनासँग मेल खाने उनीहरूको भनाइ छ ।
फेटा गाउँपालिकाको आगामी नेतृत्वका लागि सम्भावित उम्मेदवारका रूपमा चर्चा भइरहेका दुबेले सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर काम गरिरहेको स्थानीयवासी बताउँछन् । समाजसेवा, जनसम्पर्क र युवासँगको सक्रिय सहकार्यका कारण उनीप्रति समर्थन बढ्दै गएको विश्लेषण गरिएको छ ।
स्थानीय तहको विकासलाई केवल नारा र भाषणमा सीमित नराखी व्यवहारिक सुधारमार्फत जनताको जीवनस्तर उकास्नुपर्ने आवश्यकता औँल्याउँदै दुबेले अबको नेतृत्व जनताको अपेक्षा बुझ्ने, इमान्दार र उत्तरदायी हुनुपर्नेमा जोड दिएका छन् ।



