निजगढ नगरपालिकामा ईन्धन मै अनियमितता, महालेखा परीक्षकको कार्यालय उठायो औंला
शु.आ. सम्बाददाता
कलैया , ०४ भाद्र
बारा निजगढ नगरपालिकाको नगरप्रमुखमा सुरथ पुरी सहित निर्वाचित उपप्रमुख, वडा अध्यक्षहरु ईन्धनको कुपन आफ्नो पुर्ख्यौली सम्पत्ति जस्तै बाडेका छन्। नगरप्रमुख पुरी लगायत नगरपालिकाको जनप्रतिनिधिहरु नगरपालिकाबाट ईन्धनको कुपन व्यक्ति विशेष सँगै प्राईभेट सवारी साधनहरुको बाढेको रहस्य बाहिर आएको छ।
निजगढको जनप्रतिनिधिहरुले एउटै ईन्धनको कुपनमा ६ सय ६० लिटर , ६ सय ४० लिटर , पाँच सय ४५ लिटर , पाँच सय लिटर सम्म बाढेकोले अनियमितता भएको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण प्रतिबेदनमा औंला उठाएको छ।
प्रतिबेदनमा एकिकृत आर्थिक संकेत तथा वर्गिकरण र व्याख्या २०७६ (चौथौ संशोधन) को खर्च संकेत २२२११मा इन्धन पदाधिकारी र २२२१२ मा इन्धन कार्यालय प्रयोजन रहेको छ । खर्च संकेत २२२११ मा पदाधिकारीका लागि प्रयोग हुने सवारी साधनको निमित्त चाहिने इन्धन, लुब्रिकेन्ट समावेश गरिन्छ भने खर्च संकेत २२२१२ मा कार्यालय प्रयोजनका लागि प्रयोग हुने सवारी साधनको निमित्त चाहिने इन्धन, लुब्रिकेन्टसको खर्च समावेश गरिन्छ ।
तर निजगढ नगरपालिकाले आर्थिक बर्ष २०८०/०८१ मा इन्धन कार्यालय प्रयोजनको लागि रु ६८ लाख ५० हजार बजेट विनियोजन गरेकोमा रु ६८ लाख ३३ हजार २२४ खर्च गरेको छ भने इन्धन पदाधिकारीमा कुनै पनि बजेट व्यवस्था गरेको थिएनन् ।
ईन्धन पदाधिकारीहरुमा ब्यवस्था नभएपनि जनप्रतिनिधिहरु वार्षिक बजेट व्यवस्थापन गर्दा पालिका तर्फ रु ६० लाख व्यवस्थापन भएकोमा रु ६० लाख खर्च भएको उल्लेख गरेको छ। नगरपालिका अन्तर्गत १३
वटा वडा रहेकोमा वार्षिक कार्यक्रम तथा वजेटमा वडा नं. ३, ८, ९ र १३ को लागि २/२ लाख र वडा नं. १२ को लागि ५० हजार बजेट व्यवस्थापन गरी सोही परिमाणमा समेत खर्च गरेको छ।
नगरप्रमुख पुरीले वडा कार्यालयहरुलाई लाखापाखा गर्दै पाँचवटा वडा कार्यालयको लागि बजेट व्यवस्थापन गरेका थिए ।भने अन्य वडा कार्यालयको बजेट नराखेको समेत प्रतिबेदनमा उल्लेख गरीएको छ।
वडा नं ८ को वडा अध्यक्षले ईन्धनको बजेट पेमा दाई शम्भु दाई जस्ता ब्यक्तिहरुलाई तिन सय ७० लिटर बितरण गर्दै नगरपालिकाको भौचर नं. ८६९-०८०।१२।६ बाट विनायक आयल स्टोर्सलाई रु एक लाख ५६ हजार ५८४ भुक्तानी गराई अनियमितता भएको ठहर छ।भने भौचर नं. ८७३ बाट ना ३ च नम्वरको गाडीमा ४० लिटर इन्धन राखि वडाको कामले प्रदेश मन्त्रालयमा गएको उल्लेख भएकोमा के कार्य हो ? सो खुलाउने प्रमाण समेत नराखि अनियमितता गरेको प्रष्ट उल्लेख गरीएको छ।
साथै नगरपालिकाले इन्धनको लागि मासिक नम्स नबनाई नगरपालिकाका कर्मचारीलाई मासिक १० लिटरसम्म दिने गरेको देखियो । उक्त विवरण अनुसार सरकारी मोटरसाईकल प्राप्त नगरेको वडा कार्यालयमा मोटरसाईकल र गाडीमा प्रयोजन नखुल्ने गरी पालिकाको नजिक पर्ने वडा नं. ८ मा मापदण्ड अनुसार १२० लिटर पेट्रोल खर्च हुनुपर्ने देखिन्छ । विद्यमान कानुनमा निजी मोटरसाईकल तथा गाडीलाई इन्धन खर्च लेख्न मिल्ने नदेखिएको महालेखा परीक्षकको कार्यालयले वडा नं ८ को कार्यालयमा ईन्धनमा रु दुई लाख अनियमितता गरेको उल्लेख गरेको छ।
त्यस्तै वडा नं. ९ नगरपालिकाबाट निकटतम दुरीमा पर्ने भएता बा १३ च ९४२५ नम्बरको प्राईभेट गाडीमा पौष महिनाको ११ मा ४० लिटर, पौष १८ मा ३० लिटर , फागुन १२ मा ४० लिटर, फागुन १५ मा ३० लिटर, फागुन २० मा ६० लिटर र फागुन १३ मा ४० लिटर डिजेल खर्च भएको प्रमाण पेश गरेको छ। उक्त प्राईभेट गाडीमा खर्च गरेको ईन्धनको भुक्तानी नगरपालिकाको भौचर नं. १३११-०८०।२।८ बाट विनायक आयल स्टोर्सलाई रु ६४ हजार ७९५ भएको समेत प्रतिबेदनमा उल्लेख रहेको छ। प्राईभेट गाडीमा ईन्धन खर्च भएको भन्दै महालेखा परीक्षकको कार्यालयले वडा नं ९ को कार्यालयमा पनि ईन्धनमा रु दुई लाख अनियमितता गरेको उल्लेख गरेको छ।
वडा नं. ३ को कार्यालयले हिरालाल रानालाई तिन वटा कुपनबाट चार सय ६० लिटर ईन्धन उपलब्ध गराउनुको साथै खानेपानी जेनेरेटर खर्च उल्लेख गरी १०० लिटर देखि १५० लिटर डिजेलको विजक संलग्न राखेको छ । नगरपालिकाले विजक प्रमाणित गर्ने कागजात संलग्न नराखि कागजात बेगर ठूलो परिमाणमा भएको खर्च नियमसम्मत नभएपनि भौचर नं. १७०३ बाट भुक्तानी गरेको छ। त्यहि भएर वडा नं ३ को कार्यालय माथि पनि एक लाख ९९ तिन ६० रुपैया अनियमितता गरेको ठहर रहेको छ।
वडा नं १३ को वडा अध्यक्ष सुर्य घलानले सिफारिसमा नगरपालिकाले तिन हजार लिटर ईन्धन उपलब्ध गराउनको साथै वडा अध्यक्ष घलान आफै एक सय ५० लिटर र एक सय ५८ लिटर बुझेको तर सवारी साधन तथा प्रयोजन नखुलाकोले अनियमितता भएको जिकिर प्रतिबेदनमा गरीएको छ। उक्त वडा कार्यालय मार्फत ६ लाख ५७ हजार ८६४ रुपैया अनियमितता भएको छ।
त्यस्तै नगरपालिकामा १५ थान मोटरसाईकल, १ थान ट्रिपर, १ थान लोडर ,१ थान टाटा सुमो ,१ थान महेन्द्रा पिकअप र १ थान र ब्याक हो लोडर रहेको छ । बढि इन्धन खर्च हुने ब्याकहो लोडर, ट्रिपर र लोडर रहेको भएतापनि कुन सवारीसाधनमा कति इन्धन खर्च भएको हो सो विवरण नराखि उक्त सवारीसाधनको लागि रु ६० लाख इन्धन खर्च लेख्नु आफैंमा सँकास्पद रहेको छ।
नगरपालिकाले एउटै कुपनबाट ६६० लिटर , ६४० लिटर , ५४५ लिटर र ५०० लिटर डिजेल खर्च गरेको छ।भने उक्त परीणामको ईन्धन क्षमता रहेको सवारी साधन नगरपालिका छ भने प्रश्न महालेखा परीक्षकको कार्यालयले तेर्साउदै इन्धन खर्च गर्ने सम्बन्धमा प्रति सवारी साधन मासिक इन्धन परिमाण सम्बन्धमा कुनै मापदण्ड नबनाई अनियन्त्रित रुपम
इन्धन खर्च गरेको भन्दै अनियमितता भएको ठहर गरेको छ।
साथै नगरप्रमुखले प्रयोग गर्ने स्कोरपियो जिपको लागि मासिक इन्धन खर्चको मापदण्ड तयार नगरी मनपर्दो खर्च गरीएको छ। भने कर्मचारीहरुले पटक पटक खर्च गरेको इन्धनको विल राखि भुक्तानी हुने गरेको देखिएको प्रतिबेदनमा उल्लेख गरीएको छ।
महालेखा परीक्षकको कार्यालयले प्रतिबेदनमा नै नगरप्रमुख पुरी लगायत जनप्रतिनिधिहरु ईन्धनमा मात्रै ६८ लाख ३३ हजार २२४ रुपैया अनियमितता भएको भन्दै विस्तृत विवरण बेरुजु दफा ३० सँग सम्बन्धित अनुसूचीमा संलग्न रहेको उल्लेख गरेको छ।