मधेशसमाचार

जिल्लाको समग्र शान्ति सुरक्षा कायम गर्दै सुशासन कायम गर्ने प्रतिबद्ध : प्रजिअ पौडेल

शु.आ. सम्बाददाता

कलैया, १७ भाद्र

जिल्ला प्रशासन कार्यालय बारामा हालै सरुवा भई हाजिर भएका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले जिल्लाको समग्र शान्ति सुरक्षा कायम गर्दै सुशासन कायम गर्ने प्रतिबद्ध रहेको बताएका छन्।

मँगलबार जिल्ला प्रशासन कार्यालय बाराको सभाहलमा आयोजित बाराका सक्रिय पत्रकारहरूसँगको परिचयात्मक कार्यक्रममा बोल्दै यसो बताएका छन्।

प्रमुख जिल्ला अधिकारी पौडेलले सरकारका नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, सरकारी कार्यालयमा हुने ढिलासुस्ती हटाएर पारदर्शिता कायम गर्ने र नागरिकता तथा राष्ट्रिय परिचयपत्र वितरणलाई सहज बनाउने कुरामा जोड दिए। उनले जनशक्तिको अभावका बाबजुद पनि सेवाग्राहीलाई सेवा प्रवाहमा कुनै कमी आउन नदिने र लागूऔषध ओसारपसार तथा सेवनलाई निर्मम ढंगले नियन्त्रण गर्न शून्य सहनशीलता अपनाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

कार्यक्रममा नेपाल पत्रकार महासंघ, बाराका अध्यक्ष रमेश सुवेदीले पछिल्लो समय पत्रकारहरूमाथि समाचारको विषयलाई लिएर गैर-राज्य पक्ष र राज्य पक्षबाट हुने धम्की र दबाबका घटनाहरूबारे प्रमुख जिल्ला अधिकारी पौडेलको ध्यानाकर्षण गराए। उनले पत्रकारहरूको सुरक्षा र प्रेस स्वतन्त्रताको सम्मान गर्न आग्रह गरेका छन्।

परिचयात्मक कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई र राष्ट्रिय अनुसन्धान विभागका एसपी सरोज निरौला र पत्रकार महासंघ मधेश प्रदेशका काेषाध्यक्ष अनिल गाैरव,कार्य समितिका उप सचिव दुष्यन्त चाैधरी, जिउत यादव,नरेश गुप्ता लगायत करिव ३ दर्जन कृयाशिल पत्रकारहरूकाे उपस्थिति रहेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button