बारा , १९ भाद्र
जनता समाजवादी पार्टी (जसपा) नेपाल, बारा र पर्सा जिल्ला कमिटीको आयोजनामा भूमि विधेयकको विरोधमा बुधबार कलैया र बीरगंजमा बृहत प्रदर्शन गरिएको छ।
जसपा नेपालको बारा जिल्ला अध्यक्ष रमेश कुमार यादव र पर्सा जिल्ला अध्यक्ष रामनरेश यादवको नेतृत्वमा गरिएको विरोध र्यालीमा सयौंको सँख्यामा नेता तथा कार्यकर्ता सहभागी भएका थिए।
प्रदर्शनमा सहभागीहरूले भूमि सम्बन्धी विधेयकलाई राष्ट्रघाती भन्दै तत्काल खारेज गर्न माग गरेका छन्। उनीहरूले ‘राष्ट्रघाती भूमि विधेयक खारेज गर’, ‘सरकार मुर्दावाद’, ‘सुकुम्बासीमाथि अन्याय बन्द गर’ जस्ता नारा लगाउँदै सरकार विरुद्ध आक्रोश व्यक्त गरेका थिए।
जसपा नेपालले भूमि विधेयक मधेश प्रदेशको अधिकार कटौती गर्ने, भूमिहीन तथा सुकुम्बासीहरूलाई थप समस्यामा पार्ने र मधेशको राजनीतिक मुद्दाहरूलाई बेवास्ता गर्ने खालको रहेको आरोप समेत लगाएको छ।
बाराको कलैयामा प्रदर्शन पछि भएको कोणसभालाई सम्बोधन गर्दै जसपा नेपालका जिल्ला अध्यक्ष रमेश यादवले भूमि विधेयक किसान र साना भू–स्वामीलाई विस्थापित गर्ने खालको भएको आरोप लगाएका छन् । “भूमि व्यवस्थापनका नाममा सरकारले किसानको पुर्ख्यौली जग्गा खोस्ने प्रयास गरेको छ । यो जसपा नेपाललाई कतैबाट पनि स्वीकार हुदैन।
त्यस्तै केन्द्रीय सदस्य रामबाबु प्रसाद यादवले विधेयक संघीयताको मर्म विपरीत रहेको टिप्पणी गर्दै भूमि सम्बन्धी निर्णयमा स्थानीय तह र प्रदेश सरकारको अधिकारलाई हरण गरेर केन्द्रले नियन्त्रण गर्न खोज्नु संघीय व्यवस्था माथिको आक्रमण रहेको बताएका छन् ।
सरकारले हालसालै संसद्मा दर्ता गरेको भूमि विधेयकले भूमिहीनलाई बसोबासको व्यवस्था गर्ने र अव्यवस्थित बस्तीकृत क्षेत्रमा कानुनी व्यवस्था ल्याउने प्रावधान समेटेको दाबी गरेको छ । तर जसपा नेताहरूले यसले दीर्घकालीन रूपमा किसान, दलित, मधेसी र साना भू–स्वामीलाई भूमिहीन बनाउन सक्ने चेतावनी दिएका छन् ।
विशेषगरी जग्गा स्वामित्वमा लगाइने सीमा, भूमिहीनलाई वितरण गर्ने प्रक्रियामा हुने सम्भावित भ्रष्टाचार र प्रदेश–स्थानीय तहको अधिकार कटौती गर्ने प्रावधान प्रति जसपा नेपालले गम्भीर आपत्ति जनाएको छ ।
साथै प्रदर्शनकर्ताहरूले सरकारलाई तत्काल विधेयक फिर्ता लिन चेतावनी दिएका छन् । भने फिर्ता नभए थप संघर्षको बाटो रोज्ने चेतावनी समेत दिएका छन्।