सत्येन्द्र प्रताप सिंह
असोज ९ रौतहट
जिल्ला प्रहरी कार्यालय रौतहट र लागुऔषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषधसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ। चन्द्रनिगाहापुर नगरपालिकाबाट विशेष सूचनाको आधारमा गरिएको चेकजाँचका क्रममा लागुऔषध बरामद भएको हो।
बिहीबार बिहान करिब ११:५० बजेको समयमा चन्द्रनिगाहापुर नगरपालिका ६ देउरालीचोकबाट एक मोटरसाइकल चालकलाई शंकाको आधारमा प्रहरीले रोकेको थियो। प्रहरी नायव निरीक्षक तुल प्रसाद पुडासैनीको कमाण्डमा खटिएको टोलीले ना ३३ प ९५३३ नम्बरको मोटरसाइकलमा सवार ५३ वर्षीय दिपेन्द्र कुमार साहलाई चेकजाँच गर्दा उनको साथबाट प्रतिबन्धित लागुऔषध ट्रमाडोल फेला परेको हो।
बरामद गरिएका लागुऔषधमा ३०० पत्तामा ३,००० पिस ट्रमाडोल रहेका छन्। प्रहरीले साहलाई उक्त मोटरसाइकल र लागुऔषधसहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका साह चन्द्रनिगाहापुर नगरपालिका ७ का बासिन्दा रहेको खुलेको छ।
पक्राउ परेका साहलाई प्रारम्भिक अनुसन्धानका लागि सशस्त्र प्रहरी पोष्ट तल्लो बजारमा राखिएको छ। प्रहरीका अनुसार निजउपर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीले बताए लागुऔषध (नियन्त्रण) ऐन, २०३३ अन्तर्गत मुद्दा चलाइने बताइएको छ।