वेश्यालय प्रकरण र भ्रष्टाचारसम्बन्धी अभिव्यक्तिका कारण यादवलाई मुख्यमन्त्री बनाउने चर्चाको चौतर्फी विरोध
रौतहट , १२ असोज
नेपाली कांग्रेसका मधेश प्रदेश सभापति कृष्ण प्रसाद यादवलाई मधेश प्रदेशको मुख्यमन्त्री बनाउने चर्चा चुलिएसँगै उनको तीव्र आलोचना सुरु भएको छ। एक दशकअघि वेश्यालयबाट यौनकर्मीसँग रंगेहात पक्राउ परेको र हालै संसद्मा ‘भ्रष्टाचार कायम हुनुपर्छ’ भन्ने विवादास्पद अभिव्यक्ति दिएका कारण उनी विवादमा तानिएका हुन्।
मुख्यमन्त्री बनाउने तयारी र गठबन्धनको समीकरण
मधेश प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसले लिने गरी नेकपा एमाले, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच भित्री सहमति भइसकेको दाबी गरिएको हो । कांग्रेसले नेतृत्व पाएमा संसदीय दलका नेताको हैसियतले कृष्ण प्रसाद यादव नै मुख्यमन्त्री बन्ने निश्चित प्रायः देखिएको हो ।
गम्भीर आरोप र राजनीतिक विश्लेषकहरूको चिन्ता
मुख्यमन्त्रीको दौडमा रहेका यादवलाई करिब एक दशकअघि काठमाडौंको एक वेश्यालयमा यौनकर्मीसँग आपत्तिजनक अवस्थामा प्रहरीले रंगेहात पक्राउ गरेको घटनाले अहिले पुनः चर्चा पाएको छ। सो समयमा उनी संघीय सांसद थिए।
यस घटनाका साथै, केही दिनअघि संसद्मा आफ्ना कुरा राख्ने क्रममा यादवले नेपाली कांग्रेस भ्रष्टाचार गर्ने पक्षमा रहेको भन्दै निकै गैरजिम्मेवार अभिव्यक्ति दिएका थिए। उनको यो अभिव्यक्तिले राजनीतिक वृत्तमा चर्को आलोचना खेपिरहेको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार, वेश्यावृत्तिजस्तो नैतिक पतनको दाग लागेका र भ्रष्टाचारलाई नै बढावा दिने खालका अभिव्यक्ति दिने व्यक्ति प्रदेश सरकारको नेतृत्वमा पुग्दा त्यसले संघीयतालाई नै बदनाम गर्ने र प्रदेशमा भ्रष्टाचार मौलाउने तथा कुशासन बढ्ने खतरा हुन्छ। विश्लेषकहरूले यस्ता पृष्ठभूमि भएका व्यक्तिलाई मुख्यमन्त्री बनाउँदा जनतामाझ राम्रो सन्देश नजाने र राजनीतिको शुद्धीकरण प्रक्रियामा गम्भीर प्रश्न उठ्ने चिन्ता व्यक्त गरेका छन्।
जनप्रतिनिधिको नैतिक धरातल र जिम्मेवारपूर्ण अभिव्यक्तिलाई लिएर भइरहेको यो विरोधले मधेश प्रदेशको भावी राजनीतिक दिशामा ठूलो प्रभाव पार्ने देखिएको छ।