सबगढा लचका’मा ट्याक्टर चालकको मनोमानी, यात्रुबाट चर्को शुल्क असुल: स्थानीय सरकार र सुरक्षा निकायको उपस्थिति शून्य
रौतहट २१ असोज
जिल्लाको मुख्य व्यापारिक तथा आवतजावतको मार्ग, गौर-चपुर सडक खण्ड अन्तर्गत गौर नगरपालिका-६, सबगढा टोल स्थित लचकामा ट्याक्टर चालकहरूले मनोमानी ढंगले अत्यधिक भाडा असुलेर यात्रुहरूलाई लुटिरहेको पाइएको छ। वर्षातका कारण लामो समयदेखि यातायात अवरुद्ध भएको नाजुक अवस्थाको फाइदा उठाउँदै चालकहरूले यात्रुहरूलाई महँगो र अनियमित शुल्क तिर्न बाध्य पारेका हुन्। यस घटनाले स्थानीय सरकार र नियमनकारी निकायको प्रभावकारितामाथि गम्भीर प्रश्न खडा गरेको छ।
प्राप्त जानकारी अनुसार, अवरुद्ध सडकमा बनेको जलजमाव भएको ‘लचका’ पार गराए बापत ट्याक्टर चालकहरूले प्रत्येक मोटरसाइकलबाट रु १००, साइकलबाट रु ५० र पैदलयात्रीसँग समेत जनही रु २० को दरले रकम असुल गरिरहेका छन्। यो शुल्क स्थानीय यातायातको सामान्य दरभन्दा धेरै गुणा बढी रहेको पीडित यात्रुहरूको गुनासो छ। दैनिक हजारौं यात्रुहरू लचका पार गर्नैपर्ने बाध्यतामा रहेकाले चर्को मूल्य तिर्न विवश बनेका छन्।
नियमनकारी निकायको अनुपस्थिति र चालकको मनोपोली
यात्रुमाथि खुल्लम खुल्ला आर्थिक भार पार्ने यस्तो गतिविधि भइरहँदा पनि उक्त स्थानमा नेपाल प्रहरी, नगर प्रहरी वा गौर नगरपालिकाका प्रतिनिधिहरूको कुनै उपस्थिति नरहेको यात्रुहरूले बताएका छन्। स्थानीय सरकार र सुरक्षा निकायको उपस्थिति शून्य भएकै कारण ट्याक्टर चालकहरूको मनमानी बढेको र यात्रुहरू निरन्तर ठगिने क्रम जारी रहेको स्थानीय बासिन्दाको भनाई रहेछ।
लचकाका कारण नियमित बस तथा अन्य यातायात सञ्चालन हुन नसक्दा सो बाटो प्रयोग गर्ने हजारौं यात्रुहरू दैनिक रूपमा ट्याक्टर चालकहरूको यस मनोपोलीबाट पीडित भइरहेका छन्। सामान्यतया, सडक अवरुद्ध हुँदा वैकल्पिक व्यवस्था वा निश्चित शुल्क दर निर्धारण हुनुपर्नेमा यहाँ चालकहरू स्वयंले भाडा तोकेर असुली गरिरहेका छन्, जसले कानुनको खिल्ली उडाएको हो ।
पीडित यात्रुको आक्रोश: ‘यो त सरासर लुट हो’
लचका पार गर्दै गरेका एक पैदलयात्रीले आक्रोश पोख्दै भने, “सडकको अवस्था खराब हुनु त प्राकृतिक कुरा हो, तर यसरी पैसा असुल्नु त सरासर लुट हो। हामी विपन्न मान्छेलाई २० रुपैयाँ पनि ठूलो हुन्छ। स्थानीय सरकारले हेर्नुपर्ने ठाउँमा कोही पनि छैनन्।”
यसरी यात्रुबाट चर्को शुल्क असुल्ने कार्यले दैनिक रोजीरोटीका लागि यात्रा गर्ने सर्वसाधारणलाई प्रत्यक्ष असर पारेको छ। यो अवस्थाले स्थानीय प्रशासनको निष्क्रियतालाई उजागर गरेको छ।
तत्काल हस्तक्षेपको माग
यात्रु तथा स्थानीय बासिन्दाले गौर नगरपालिका र जिल्ला प्रशासन कार्यालय रौतहटले यस विषयमा तत्काल ध्यान दिनुपर्ने माग गरेका छन्। उनीहरूले भाडादरमा एकरूपता ल्याई यात्रुमाथि भइरहेको अन्याय रोक्न र ट्याक्टर चालकहरूको मनोमानी नियन्त्रण गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
साथै, लचका क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरी भाडा असुलीलाई व्यवस्थित र नियन्त्रण गर्नुपर्ने देखिएको छ। अन्यथा, यसरी सार्वजनिक मार्गमा भइरहेको खुल्ला लुटले स्थानीय सरकारको साखमाथि थप प्रश्न उठ्ने निश्चित छ।