मधेशसमाचार

बाढीपछिको रोगको जोखिम न्यूनीकरण गर्न गौर नगरपालिकाद्वारा लामखुट्टे नियन्त्रणका लागि विशेष टोली परिचालन

रौतहट , २४ असोज

जिल्लामा केही समयअघिको बाढी र डुबानका कारण उत्पन्न हुन सक्ने विभिन्न रोगहरूको जोखिमलाई ध्यानमा राख्दै गौर नगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि विशेष ‘स्प्रे टोली’ परिचालन गरेको छ। बाढी हट्ने बित्तिकै तत्कालै नगरपालिकाले कीटनाशक औषधि छर्ने अभियानलाई तीव्रता दिएको हो।

नगरपालिकाका स्प्रे टोली संयोजक गेनालाल पण्डितका अनुसार नगर क्षेत्रका बासिन्दालाई लामखुट्टेको टोकाइबाट सर्ने रोगहरू (जस्तै: डेंगी, मलेरिया, कालाजार) बाट बचाउन यो अभियान सुरु गरिएको हो। नगरपालिकाको वडा नं १ देखि वडा नं ९ सम्मका हरेक टोल तथा सार्वजनिक स्थलहरूमा किटनाशक औषधि छर्किने भएको हो ।

नाला र पानी जम्ने स्थानमा विशेष ध्यान

लामखुट्टेको प्रजनन र बासस्थानका लागि उपयुक्त मानिने नाला, ढल, तथा पानी बग्ने ठाउँहरूलाई लक्षित गरी पाँच जनाको संयुक्त स्प्रे टोली परिचालन गरिएको पण्डितले जानकारी दिए। “बाढीका कारण धेरै ठाउँमा फोहोर पानी जमेको छ र सडेगलेका वस्तुहरूले गर्दा लामखुट्टेको संख्या तीव्र रूपमा बढ्न सक्छ। यसै जोखिमलाई मध्यनजर गर्दै पालिकाले सडेगलेका तथा फोहोर पानी जम्ने स्थानहरूमा तत्कालै कीटनाशक औषधि छर्न तत्पर रहेको छ,” उनले बताए।

उनका अनुसार यो अभियानको मुख्य लक्ष्य भनेको बाढीपछिको सम्भावित महामारीबाट नगरवासीलाई सुरक्षित राख्नु र स्वास्थ्य जोखिम न्यूनीकरण गर्नु हो। विशेषगरी वर्षायाम र त्यसपछिका महिनाहरूमा डेंगी र अन्य भेक्टर-जनित रोगहरूको जोखिम उच्च हुने भएकाले नगरपालिकाले यो कदम चालेको हो।

स्थानीयको सहभागितामा

नगरपालिकाले अभियानलाई प्रभावकारी बनाउन जनसहभागिताको आवश्यकतामा पनि जोड दिएको हो । नगरपालिका एक्लैको प्रयासले मात्र यो समस्या नियन्त्रण गर्न नसकिने भन्दै नगरवासीलाई आफ्नो घरवरपर र कौसीमा पानी जम्न नदिन तथा नियमित रूपमा सरसफाइ गर्न आग्रह गरिएको हो । स्वास्थ्यकर्मी र महिला स्वयंसेविकाहरूलाई पनि यस अभियानमा परिचालन गरिएको छ ताकि समुदाय स्तरमै लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्ने कार्यलाई निरन्तरता दिन सकियोस्।

नगर प्रमुख शम्भु साहले सम्पूर्ण नगरवासीलाई यस विपद्पछिको स्वास्थ्य सुरक्षा अभियानमा नगरपालिकासँग हातेमालो गर्न र स्प्रे टोलीलाई लामखुट्टेमुक्त बनाउन सहयोग गर्न आग्रह गरेका हुन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button