कलैया , २५ असोज
प्रहरीहरु तस्करीको रकममा लिप्त भएको यस दैनिकले विभिन्न समयमा समाचार प्रकाशन गरेपछि बारा र पर्साका जिल्ला प्रहरी कार्यालय प्रमुखहरु आसेपासे पत्रिकाबाट वाहवाही गराईरहेको सर्वविदितै छ। तर बारा र पर्साको प्रहरी प्रमुखलाई झुठो प्रमाणित गर्दै मकवानपुर प्रहरीले शुक्रबार बिहान ३४ लाख रुपैयाँ बराबरको अवैध कपडा र प्रतिबन्धित पटका बरामद गरेको छ।
मकवानपुर प्रहरीले हेटौंडा वडा नम्बर १५ रातोमाटे स्थित चार्जिङ स्टेशन अगाडिबाट ३४ लाख रुपैयाँ बराबरको अवैध कपडा र प्रतिबन्धित पटका बरामद गरी यस दैनिकले उजागर गरेको समाचारलाई समेत प्रमाणित गरेको छ।
शुक्रबार बिहान ४ः१० बजेको समयमा वीरगंजबाट हेटौंडातर्फ जाँदै गरेको म प्र ०३–००१ च ९०२३ नम्बरको ‘योद्धा’ गाडीमा सुरक्षा जाँचका क्रममा उक्त सामानहरू फेला पारिएको हो ।
पर्सा र बारा कटाई सकेका अबैध कपडा र पटका सहित जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले गाडीका चालक रौतहट बृन्दावन नगरपालिका – ९ का २० वर्षीय प्रदिप कुमार चौधरी र सवारीमा सवार गरुडा नगरपालिका–४ का ३१ वर्षीय विजय साहलाई नियन्त्रणमा लिएको छ ।
गाडीको पछाडि ढाला भित्र लुकाएर राखिएका १३० थान साडी, ६९६ थान कुर्ता, १७५ थान टप्स, र १ हजार १ थान कपडाका थानहरू बरामद गरिएको छ, जसको मूल्य लगभग १४ लाख रुपैयाँ अनुमान गरिएको छ । त्यसैगरी, झण्डै २० लाख रुपैयाँ बराबरको प्रतिबन्धित झिरझिरे पटका समेत फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जना माथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।