कृष्ण तिवारी / रुपेश यादव
रौतहट, २६
रौतहटमा जग्गाको विषयलाई लिएर दुई पक्षबीच विवाद भई कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा जिल्लाको फतुवा विजयपुर नगरपालिका -२ सितलपुरका ६० वर्षीय शंकर साह बनिया रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटले दिएको जानकारी अनुसार जग्गाको विषयलाई लिएर आइतबार दिउँसो स्थानीय शंकर साह बनिया र कपिलदेव यादव पक्षबीच विवाद भएको थियो ।
दुबै पक्षबीच विवाद भई कुटाकुट हुँदा शंकर साह बनियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका इन्स्पेक्टर रामकुमार महतोले बताएका छन्।
कपिलदेव यादव पक्षले निर्घात कुटपिट गर्दा शंकर साहको मृत्यु भएको इन्स्पेक्टर महतोले बताए ।
सो क्रममा शंकर साह पक्षले गरेको आक्रमणमा परेर कपिलदेव यादवको श्रीमती ४० वर्षीया मिना देवी घाइते भएकी छिन्। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
मृतक शंकर साह बनियालाई कुटपिट गर्ने स्थानीय कपिलदेव यादव, ब्रह्मदेव यादव, विनोद भन्ने हरदेव यादव र ब्रह्मदेवका छोरा सुरेश यादव हाल फरार रहेको तथा उनीहरूको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
घटना हुनेबित्तिकै इलाका प्रहरी कार्यालय विजयपुर लक्षमिनियाका इन्स्पेक्टर सुरेन्द्र यादवको कमाण्डमा गएको प्रहरी टोलीले घाइते भएका शंकर साहलाई उद्धार गरी उपचारका लागि एल एस न्यूरो हस्पिटल वीरगन्ज पठाएका थिए।
तर कुटपिटबाट गम्भीर घाइते भएका साहको उपचारको क्रममा दिउँसो साढे १ बजे मृत्यु भएको थियो ।
घटना बारे थप अनुसन्धान भइरहेको र घटनामा संलग्नहरुको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।