रौतहट , ०५ कार्तिक
जिल्लाको उत्तरी भेगस्थित चन्द्रपुर नगरपालिकामा बुधबार बिहान यात्रुबाहक बसमा आगलागी भएको छ। चन्द्रपुर नगरपालिका ४ पश्चिम लच्का नजिक पूर्व–पश्चिम राजमार्गमा बिहान करिब ७:२० बजे काठमाडौँबाट चन्द्रनिगाहपुरतर्फ आउँदै गरेको प्रदेश २–०३–००१ ख ५५५५ नम्बरको बसमा आगलागी भएको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटले दिएको जानकारीअनुसार बसको ब्याट्रीको तार सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको हो । अचानक गुडिरहेको बसमा आगोको लप्का देखेपछि यात्रुहरू तत्काल सुरक्षित रूपमा बाहिर निस्कन सफल भएकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको प्रहरीले जनाए।
घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक रुपेश कुमार झाको कमाण्डमा प्रहरी टोली तत्काल घटनास्थलतर्फ खटिएको थियो। सुरक्षाकर्मी, स्थानीयवासी र बारुण यन्त्रको संयुक्त प्रयासमा बिहान ८:१५ बजेतिर आगो पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको प्रहरीले जनाए।
यद्यपि, आगो नियन्त्रणमा आउँदासम्म बस भने पूर्ण रूपमा जलेर नष्ट भएको हो । प्रारम्भिक अनुमानअनुसार बस जलेर करिब रु. ३५ लाख बराबरको आर्थिक क्षति भएको बताइएको हो । घटना भएको स्थान इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट करिब ३ किलोमिटर पश्चिममा रहेको छ ।
गुडिरहेको बसमा आगलागी भए पनि यात्रुहरूको समयमै उद्धार र सुरक्षाकर्मी तथा स्थानीयको सक्रियताका कारण कुनै पनि मानवीय क्षति हुन नपाएकोमा सबैले राहत महसुस गरेका छन्। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाए।