रूपेश यादव
राैतहट,०९ कार्तिक
गुजरा नगरपालिकाकाे सिम्राभवानीपुरमा एमालेकाे शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ।
समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पना नेकपा एमाले बाहेक अन्य कसैले साकार गर्न नसक्ने दाबी गर्दै बक्ताहरुले एमाले नेतृत्वको सरकारका उपलब्धिहरूको स्मरण गराए।
महान पर्व दीपावली तथा छठको अवसरमा नेकपा एमाले रौतहट क्षेत्र ३ द्वारा शनिबार गुजरा नगरपालिका–अन्तर्गत भवानीपुर गाउँमा आयोजित शुभकामना तथा भेटघाट कार्यक्रमका बक्ताहरुले उक्त विचार राखेका थिए।
वक्ताहरूले भने,
“एमालेको अगुवाइमा सुरु भएको सामाजिक सुरक्षा भत्ता १०० रुपैयाँबाट बढेर अहिले ४ हजार रुपैयाँ पुगेको छ। अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा हुलाकी राजमार्ग, मध्य पहाडी राजमार्ग र सुरुङमार्ग निर्माणजस्ता दर्जनौं ठूला विकास योजनाहरू कार्यान्वयनमा आएका छन्।”
त्यसैगरी, उनीहरूले हालको सरकारले जनताको पक्षमा कुनै ठोस काम गर्न नसकेको आरोप लगाउँदै भने,
“जेन–जी आन्दोलनको नाममा भएको हिंसात्मक गतिविधि नियन्त्रण गर्न नसक्नु, निर्दोष बालबालिका माथि गोली चलाउने दोषीलाई कारबाही गर्न नसक्नु—यी सबै सरकारको अक्षमताका प्रमाण हुन्।”
वक्ताहरूले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले आन्दोलनका क्रममा भएका विध्वंस र बालबालिकाको हत्या बारे सत्य तथ्य सार्वजनिक गर्नुपर्ने बताउँदै, “विदेशीको इशारामा चलेको सरकारले दोषीलाई पक्राउ गर्नुको साटो संरक्षण गर्न खोजेको छ,” भनेर आरोप लगाएका थिए।
कार्यक्रमका वक्ताहरूले पूर्व मन्त्री तथा आजपा अध्यक्ष प्रभु साहप्रति तीव्र आलोचना गर्दै उनको सम्पत्ति र नैतिकताको प्रश्न उठाएका थिए। वक्ताहरूले भने,
“अध्यक्ष केपी शर्मा ओलीले आफ्ना सम्पत्तिहरू राष्ट्रको नाममा दिने घोषणा गर्न सक्ने साहस देखाएका छन्, तर आजपा अध्यक्ष प्रभु साहले आफ्नो सम्पत्तिबारे स्पष्ट पार्ने हिम्मत गर्नुपर्छ।”
साथै, नेताहरूले साहकी श्रीमती तथा मौलापुर नगरपालिकाकी मेयर रिना कुमारी साहलाई एमालेबाट जितेको पदबाट राजीनामा गर्न आग्रह गर्दै जनतालाई “भ्रष्ट र आपराधिक प्रवृत्तिबाट सचेत रहन” अपिल गरेका थिए ।
वक्ताहरूले रौतहटमा शिक्षा, स्वास्थ्य, बिजुली, सडकलगायतका पूर्वाधार विकास एमाले नेतृत्वमा मात्रै सम्भव भएको दाबी गर्दै जनतालाई आगामी दिनमा पुनः एमालेमा विश्वास गर्न आग्रह गरेका थिए। बक्ताहरुले भने,
“देश अहिले अन्यौलपूर्ण अवस्थाबाट गुज्रिरहेको छ, र त्यसको निकास एमाले पार्टीले मात्र दिन सक्छ।”
नेताहरूको उपस्थितिसहित जनउत्साहपूर्ण कार्यक्रम
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य कुन्दन कुशवाहाको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा पूर्व मन्त्री तथा प्रदेश सांसद केशव राय चौधरी, पूर्व मन्त्री नागेन्द्र यादव, जिल्ला अध्यक्ष सच्चिदानन्द साह, उपाध्यक्ष रुपेश पटेल, सचिव बाबुराम दाहाल, देवाही गोनाहीका मेयर प्रेमलाल साह, शेख एकतामूल, अवधेश यादव (अध्यक्ष, प्रादेशिक अस्पताल गौर), र उपमेयर प्रत्याशी हिरा खपाङ्गी मनाेज यादव राजन , अरविन्द यादव लगायतका नेताहरूले समृद नेपाल र सूखी नेपाली बनाउन एमालेको बिकल्प नभएको दाबी गरेका थिए।
स्थानीय नेता, कार्यकर्ता, बुद्धिजीवी, युवाहरू र विभिन्न समुदायका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको कार्यक्रममा कलाकारहरूले देशभक्तिपूर्ण र सांस्कृतिक गीत–संगीत प्रस्तुत गर्दै वातावरणलाई झनै उल्लासमय बनाएका थिए।