रौतहट , ०९ कार्तिक
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता तथा पूर्व राज्य मन्त्री योगेन्द्र राय यादवले पार्टीको प्रदेश कार्य समिति विधान विपरीत र मनपरी ढंगले गठन भएकाले उक्त समिति छिट्टै भंग र रद्द हुने दाबी गरेका छन्।
शनिबार जनता समाजवादी पार्टी नेपाल रौतहट कार्य समिति द्वारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दे नेता यादवले भने — “पार्टीको आन्तरिक लोकतन्त्र र संगठनको मर्यादा तोड्दै एकलौटी रूपमा प्रदेश कार्य समिति गठन गरिएको हो । यसबारे मैले आधिकारिक रूपमा केन्द्रीय कार्य समितिमा उजुरी दिइसकेको छु।”
केही दिनअघि जनकपुरधाममा सम्पन्न जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेश प्रदेश अधिवेशन विवादास्पद बन्दै गएको हो ।
अधिवेशनमा प्रदेश अध्यक्षका दावेदार रहेका जसपा नेता तथा पूर्व राज्य मन्त्री योगेन्द्र राय यादवले वर्तमान अध्यक्ष बालकिशोर यादव पक्षले विधान विपरीत प्रतिनिधि छनोट गरी अधिवेशनमा धाँधली गरेको आरोप लगाए।
नेता यादवका अनुसार अधिवेशनमा प्रतिनिधि छनोटको क्रममा एक पक्षीय निर्णय लिइएको र वैधानिक प्रक्रिया पूरा नगरी मनपरी ढंगले प्रदेश समिति गठन गरिएको हो। “बालकिशोर यादवले एकलौटी रूपमा अधिवेशन सञ्चालन गरी अध्यक्ष बन्ने वातावरण सिर्जना गरे,” यादवले भने, “यो पूर्ण रूपमा पार्टीको विधान विपरीत कार्य हो, त्यसैले उक्त समिति तत्काल विघटन हुनुपर्छ।”
उनका अनुसार जसपा नेपालको विधान अनुसार प्रदेश समिति गठन गर्दा नियम संगत ढंगले प्रतिनिधि छनोट गर्नुपर्णेमां विधान विपरीत प्रतिनिधि छनोट ग़रिएको हो जून गलत छ । त्यस कारण आफुहरु चुनाव बहिष्कार गरेको उनले बताए।
यादवले भने, “यो कदमले पार्टीभित्र असन्तोष र विभाजन निम्त्याएको छ, त्यसैले केन्द्रीय कार्य समितिले सत्य–तथ्यको आधारमा निर्णय लिनेछ र गलत ढंगले बनेको समिति खारेज हुनेछ।”
पूर्व राज्य मन्त्री यादवले पार्टी एकता र अनुशासनलाई बलियो बनाउन सबै नेता–कार्यकर्तालाई संयम रहन र संगठनभित्रको समस्या संवादबाट समाधान गर्न आग्रह गरे।
अधिवेशनमा रहेका बहुमत प्रतिनिधिहरूले विरोध स्वरूप अधिवेशन बहिष्कार गर्दै बाहिरिने निर्णय गरेका थिए। यादवले यो घटनाले पार्टीको लोकतान्त्रिक मर्यादा र संगठनात्मक एकतामाथि गम्भीर प्रश्न उठाएको बताएका छन्।
उनका अनुसार आफूले यस विषयमा केन्द्रीय कार्य समितिमा आधिकारिक उजुरी पनि दर्ता गरिसकेका छन्। उनले भने, “हामी पार्टीभित्रको अन्याय र एकलौटीपनाविरुद्ध लड्दैछौं, न्यायपूर्ण प्रक्रिया पुनःस्थापना नभएसम्म हाम्रो संघर्ष जारी रहनेछ।