मधेशसमाचार

स्ट्रिट लाइट जडानसहित १४ बुँदे माग पूरा नभएसम्म आन्दोलन जारी रहने युवाहरूको चेतावनी

साबिर आलम

बारा, १९ कार्तिक

बाराको आदर्श कोतवाल गाउँपालिकामा युवाहरूले स्ट्रिट लाइट जडानसहित १४ बुँदे माग लिएर थालेको शान्तिपूर्ण आन्दोलन जारी राखेका छन्। आन्दोलनकारीहरूले गाउँपालिका अध्यक्षसँग बारम्बार वर्ता गर्ने प्रयास गरे पनि कुनै सकारात्मक पहल नदेखिएको भन्दै आन्दोलन निरन्तर अघि बढाएको बताएका छन्।

युवाहरूका अनुसार, कार्तिक २ गते गाउँपालिका अध्यक्षले वर्ताको नाममा अगुवा नेता प्रदिप प्रसाद कुशवाहालाई जिल्ला प्रशासन कार्यालय, कलैयामा बोलाई वर्ता नगरी थुनामा राखेका थिए। सोही दिन आन्दोलनकारीको अनुपस्थितिमा गाउँपालिका कार्यालयमा जबर्जस्ती ताला फोडिएको र लेखा शाखामा आगलगी भएको घटनाप्रति युवाहरूले गम्भीर आपत्ति जनाएका छन्।

आन्दोलनरत युवाहरूले उक्त घटनामा गाउँपालिका अध्यक्षकै निर्देशनमा पार्टीगत कार्यकर्ता र लठैतहरू परिचालन गरिएको आरोप लगाएका छन्। उनीहरूले सो घटनाको निष्पक्ष छानबिन र पक्राउ परेका युवा नेताहरूको रिहाइको माग गर्दै तीन दिनभित्र माग सम्बोधन नभए पुनः आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन्।

छठ पर्वको समयलाई मध्यनजर गर्दै शान्तिपूर्ण आन्दोलनका कार्यक्रम केही समयका लागि स्थगित गरिएको भए पनि, निर्दोष युवामाथि झुठा मुद्दा लगाइएपछि उनीहरू पुनः सक्रिय भएका छन्।

युवाहरूले आफ्नो आन्दोलन शान्तिपूर्ण र न्यायिक ढङ्गले अघि बढाइने बताएका छन् र माग पूरा नभएसम्म आन्दोलन जारी रहने जनाएका छन्।

यता आदर्श कोतवाल गाउँपालिकाका अध्यक्ष जवाहिर प्रसाद साहले गाउँपालिका कार्यालयको लेखा शाखामा भएको आगलागी घटनाका दोषीमाथि कडा कारबाही गर्ने र आन्दोलनरत युवाहरूसँग वर्ता गर्न आफू तयार रहेको बताएका छन्।

अध्यक्ष साहले सो घटनाबारे निष्पक्ष छानबिन भई सत्य तथ्य सार्वजनिक हुनुपर्ने उल्लेख गर्दै कसैले पनि सार्वजनिक सम्पत्तिमा आगो लगाउने जस्तो गैरजिम्मेवार कार्य गरेको पाइए कानूनी कारबाहीबाट उम्किन नसक्ने चेतावनी दिएका छन्।

उनले गाउँपालिकाका युवाहरूसँगको संवाद र सहकार्यका माध्यमबाट सबै समस्या समाधान गर्न सकिने विश्वास व्यक्त गर्दै, युवाहरूका जायज मागहरूबारे वर्ता गर्न आफू खुला रहेको र सकारात्मक समाधान खोजिने जानकारी दिएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button