बारा, २३ कार्तिक
बाराको सुवर्ण गाउँपालिका–२ कबहीगोठमा प्रदेश सरकारको बजेटबाट सम्पन्न विकास योजनामा व्यापक अनियमितता र गुणस्तरहीन काम भएको स्थानीयवासीहरूले गम्भीर आरोप लगाएका छन्। करिब ६ महिना अगाडि सम्पन्न भएका ढलान, सडक मर्मत, र सार्वजनिक शौचालयजस्ता पूर्वाधारहरू अहिले भत्किन थालेका छन्।
स्थानिय रामएकवाल यादवका अनुसार, कबही नहरमा २५ लाख रुपैयाँ लागतमा गरिएको ढलान काम सुरुवाती केही महिनामै भत्किन थालेको छ। “ढलान कमजोर मिश्रणमा गरिएको थियो। काम गर्दा पनि प्राविधिक उपस्थित थिएनन्, अहिले त सडकमा ठाउँ–ठाउँमा फाटो र खाल्डा परेका छन्,” यादवले बताए।
त्यस्तै, कबही बजारमा निर्माण भएको सार्वजनिक शौचालय पनि अपूर्ण अवस्थामा छ। शौचालयमा पानीको पाइप, धारा र सिट जडान नगरी नै भुक्तानी गरिएको स्थानीय रविरंजन कुमार यादवले जानकारी दिए। उनले भने, “शौचालय बनाइयो तर चल्ने अवस्थामा छैन, न पानीको सुविधा छ न त सिटहरू, यसले जनताको पैसा खेर गएको छ।”
ढलान माथि ढलान र अधुरो मन्दिर निर्माण
स्थानीयहरूका अनुसार, कबही बजार क्षेत्रमा ठेकेदारहरूले पुरानो ढलानमाथि नयाँ ढलान गरेर ‘काम पूरा’ भएको देखाउने प्रवृत्ति अपनाएका छन्। यसले बजेट खर्च त देखाइएको छ, तर नतिजा शून्य छ।
गाउँपालिका कार्यालय नजिकै निर्माणाधीन शिव–पार्वती मन्दिर पनि विवादको विषय बनेको छ। स्थानीय लालबाबु राउत अहिरका अनुसार, मन्दिर निर्माणका लागि पटक–पटक गरी करोडौं रुपैयाँ निकासा भए पनि अहिलेसम्म संरचना पूरा भएको छैन। “मन्दिरका लागि बजेट आएको हो, तर हरेकपटक अलिकति काम गरेर रोक्ने र नयाँ बजेट माग्ने चलन बनिसकेको छ,” उनले बताए।
सडक मर्मतमा पनि लापरबाही
त्यस्तै, बस्तपुर–सनफुलवा–कबही हुँदै पिप्राढी जोड्ने सडकमा करिब ३५ लाख रुपैयाँको मर्मत ठेक्का दिइए पनि काम नाममात्र गरिएको स्थानीयको भनाइ छ। स्थानीय यादवका अनुसार, “३–४ टिपर ग्राभेल खसाएर काम सम्पन्न देखाइएको छ। ग्राभेल नचापी काम पूरा भएको रिपोर्ट पठाएर ठेकेदारले पैसा उठाइसकेका छन्।”
जनप्रतिनिधिमाथि मिलेमतोको आरोप
स्थानीयहरूले उक्त क्षेत्रका प्रदेशसभा सदस्य बच्चा राउत अहिरमाथि ठेकेदारसँग मिलेमतो गरी काम गराएको आरोप लगाएका छन्। उनीहरूले भनेका छन्, “साँसदले आफ्नै नातिको जिम्मामा ठेक्का दिएर अनुगमन र निरीक्षण नगरी काम अघि बढाएका छन्। जनताको पैसाको दुरुपयोग भइरहेको छ।”
साथै, काम सम्पन्न भएपछि पनि नापजाँच गर्ने प्राविधिकहरूले बिना स्थलगत निरीक्षण ‘सन्तोषजनक काम भएको’ भनी रिपोर्ट पठाएका कारण ठेकेदारलाई सजिलै भुक्तानी गरिएको स्थानीयको आरोप छ।
छानबिन र अनुगमनको माग
स्थानीयवासीहरूले प्रदेश सरकार र सम्बन्धित निकायसँग सो क्षेत्रमा भएका सबै परियोजनाको स्वतन्त्र छानबिन र प्राविधिक परीक्षण गर्न माग गरेका छन्। उनीहरूले चेतावनी दिएका छन् कि, यदि तत्काल कारबाही नहुँदा जनआन्दोलनमार्फत सत्यको खोजी गर्न बाध्य हुनेछन्।
स्थानीय रविरंजन यादवले भने, “प्रदेश सरकारको नाममा पैसा खर्च भइरहेको छ, तर विकास देखिँदैन। ठेकेदार र नेताहरूको मिलेमतोमा जनताको करको पैसा हजम भइरहेको छ।”
सुवर्ण गाउँपालिका–२ का जनताले अबका दिनमा हुने सबै योजनामा सार्वजनिक अनुगमन र पारदर्शी प्रक्रिया अपनाउन आग्रह गरेका छन्।