मधेशसमाचार

गौरमा मतदाता नामावली दर्ताका लागि नागरिकको व्यापक सहभागिता र भीडभाड

कात्तिक २८ रौतहट

जिल्लाको गौरस्थित जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावली दर्ता तथा संशोधन कार्यका लागि शुक्रबार बिहानैदेखि नागरिकहरूको उल्लेखनीय भीडभाड देखिएको छ। आगामी निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली संकलन तथा अद्यावधिक अभियानमा स्थानीयवासीको सक्रिय सहभागिता बढेपछि कार्यालयमा सेवाग्राहीको चाप बढेको हो।

कार्यालय परिसरमा बिहानैदेखि विभिन्न उमेर समूहका पुरुष तथा महिलाहरूको बाक्लो उपस्थिति रहेको छ। नयाँ मतदाता दर्ता गर्न, नाम, ठेगाना वा जन्ममिति जस्ता विवरणहरूमा सुधार गराउन र मतदाता परिचयपत्रका लागि फारम बुझाउन आएका स्थानीयहरू लामो लाइनमा व्यवस्थित रूपमा उभिएका थिए।

जिल्ला निर्वाचन कार्याल रौतहटका प्रमुख छोटेलाल दासले दैनिक सयौं सर्वसाधारणलाई सेवा दिन भ्याई नभ्याई भएको छ। कार्यालय स्रोतका अनुसार मतदाता नामावली संकलन अभियानलाई व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक तयारीहरू गरिए पनि नागरिकको अत्यधिक चापका कारण कामको व्यस्तता निकै बढेको हो ।

अभियान सुरु भएदेखि नै हामीले दैनिक सयौं जनालाई सेवा दिइरहेका छौँ, एक कर्मचारीले भने, पछिल्ला दिनहरूमा भीड झनै बढेको छ, जसले गर्दा सेवाग्राहीलाई केही समय कुर्नु पर्ने अवस्था आएको छ।

सेवा लिन आएका स्थानीयहरूले भने लामो समय पर्खिनु परेको भन्दै गुनासो गरिरहेका छन्। उनीहरूले सेवा प्रवाहलाई थप चुस्त र सहज बनाउन कार्यालयले थप जनशक्ति तथा व्यवस्थापनमा ध्यान दिनुपर्ने माग गरेका छन्।

बिहानैदेखि लाइनमा उभिएका छौँ, पालो आउन निकै ढिलो भयो,नाम नबताउने शर्तमा एक सेवाग्राहीले बताए।

यस अभियानमा महिला मतदाताहरूको सक्रिय सहभागिता पनि उत्साहजनक देखिन्छ। आफ्नो नाम दर्ता गराउन वा विवरण अद्यावधिक गराउनका लागि धेरैजसो महिलाहरू पनि लामो लाइनमा धैर्यताका साथ पर्खिरहेका थिए। यसले आगामी निर्वाचनका लागि महिलाहरूको मताधिकार प्रयोगप्रतिको जागरुकता बढेको संकेत गर्दछ।

निर्वाचन कार्यालयले मतदाता नामावली संकलन अभियानलाई तोकिएको समयभित्र सफलतापूर्वक सम्पन्न गर्नका लागि आफ्नो सम्पूर्ण शक्ति लगाएको जनाए। नागरिकहरूलाई पनि आवश्यक कागजातसहित समयमै कार्यालयमा उपस्थित भई आफ्नो मताधिकार सुरक्षित गर्न आग्रह गरिएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button