मधेशसमाचार

 ‘बिना सूचना रातीमै डोजर चलाएर घर भत्काइयो’ – स्थानीय सुरेन्द्र सिंहको आरोप

 बारा, २९ कार्तिक

पचरौता नगरपालिकाका स्थानीय सुरेन्द्र सिंह राजपूतले नगरप्रमुख जलन्दर सिंहमाथि बिना सूचना मध्यरातमा घरमा डोजर चलाएर भत्काएको गम्भीर आरोप लगाएका छन्। कलैयामा पत्रकार सम्मेलन गरी आफू पीडित बनेको दाबी सार्वजनिक गर्दै उनले यो घटना ‘डाका शैलीको कार्य’ भएको आरोप लगाए।

१० लाख रुपैयाँ र १० तोला सुन लुटिएको दाबी

सुरेन्द्र सिंहका अनुसार उनकी छोरीको विवाहका लागि नियत गरी राखिएको रु १० लाख रकम र करिब १० तोला सुनका गरगहना समेत डोजर चलाउने समूहले लुटपाट गरेको छ।

“कुनै पनि प्रक्रिया, सूचना वा कानुनी आधार बिना राती नै डोजर ल्याएर मेरो घर भत्काइयो,” उनले भने।

“नगरप्रमुखको व्यक्तिगत रिसइबी थियो” — सुरेन्द्र सिंह

सुरेन्द्रले आफू बसेको घर ऐलानी नभई नम्बरी रहेको दाबी गर्दै, सडकबाट लगभग २० फिट भित्र परे पनि घर तोडिएको बताए।

उनका अनुसार नगरप्रमुख जलन्दर सिंह व्यक्तिगत रिसइबीका कारण आफूलाई निशाना बनाएको दाबी छ।

साथै, उनले नगरप्रमुख स्वयं ऐलानीमा रहेको आफ्नो माछापालन केन्द्र पनि हटाउनुपर्ने चुनौती दिएका छन्।

न्यायका लागि अदालत–प्रशासनमा निवेदन

घटनापछि सुरेन्द्रले अदालत र जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गरिसकेको बताएका छन्।

“यदि मेरो गल्ती प्रमाणित भयो भने म मेरा सबै आरोप फिर्ता लिन तयार छु। तर घर भत्काएको, सुन–पैसा लुटिएको, सबै क्षतिपूर्ति दिलाउनुपर्नेछ,” उनले भने।

साथै नगरप्रमुखले लिखित माफी माग्नुपर्ने माग पनि राखेका छन्।

नगरप्रमुखको प्रतिकृया: “यो राजनीतिक प्रतिशोध”

यता नगरप्रमुख जलन्दर सिंहले भने सुरेन्द्र सिंहका आरोपहरू राजनीतिक प्रतिशोध र विकास रोक्ने नियतका कारण गरिएको भ्रामक प्रचार रहेको प्रतिक्रिया दिएका छन्।

उनका अनुसार केही समूहले योजनाबद्ध रूपमा झुठा आरोप लगाएर विकास कार्य रोक्ने षड्यन्त्र गरिरहेको दाबी छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button