कलैयामा एमालेद्वारा ‘घर फर्क राष्ट्रिय अभियान’ अन्तर्गत शक्ति प्रदर्शन, नयाँ युवा नेताहरूलाई भव्य स्वागत
बारा, कलैया
नेकपा एमाले बारा द्वारा आयोजित घर फर्क राष्ट्रिय अभियान तथा प्रतिगामी षड्यन्त्र विरुद्धको शक्ति प्रदर्शन आज कलैयामा भव्य रूपमा सम्पन्न भएको छ। जिल्लाको विभिन्न क्षेत्रमा रहेका हजारौँ कार्यकर्ता र युवाहरूको सक्रिय सहभागितासहित भएको कार्यक्रम मजबुत संगठन विस्तार र पार्टी एकतामा केन्द्रित थियो।
कार्यक्रममा समाजवादी प्रेस संगठन बारा सचिव नरेश गुप्ता, युवा संघ नेपाल बारा उपाध्यक्ष हरिओम साह, तुवा नेता जयकिसुन यादव, बिराजमन साह, सागर पटेल, विकास साह सहितका युवा नेताहरूलाई नेकपा एमालेमा औपचारिक रूपमा पार्टी प्रवेश गराइयो। नयाँ प्रवेशी युवाहरूलाई पूर्वमन्त्री किसान श्रेष्ठ र ज्वाला कुमारी साहले भव्य स्वागत गरेका थिए।
लोकतन्त्र र संघीयताको रक्षा पार्टीको प्राथमिकताः एमाले नेताहरू
एमालेका नेताहरूले लोकतन्त्रको रक्षा तथा संघीयता संस्थागत गर्न आफ्नो पार्टी नै अग्रसर भएको बताउँदै नयाँ प्रवेशी युवाहरू पार्टीको शक्ति, ऊर्जा र भविष्यका आधारस्तम्भ भएको उल्लेख गरे।
जिल्ला कार्यसमिति बारा अध्यक्ष अध्यनन्द पाण्डेले नव–प्रवेशित युवा कार्यकर्ता तथा पत्रकारलाई स्वागत गर्दै जिल्लामा संगठन मजबुत बनाउने दृढता व्यक्त गरे।
पार्टी भविष्यको निर्णायक शक्तिः प्रतिबद्धता व्यक्त
पार्टी नेताहरूले एमाले नै देशको भविष्यको निर्णायक राजनीतिक शक्ति भएको दाबी गर्दै प्रतिगामी कदम, राजनीतिक अस्थिरता तथा कमजोर शासन व्यवस्थाविरुद्ध जनआन्दोलनमार्फत जनतासँगै रहने प्रतिवद्धता दोहोर्याए।
हजारौँ कार्यकर्तासहितको जुलुस–शक्ति प्रदर्शन
आजको शक्ति प्रदर्शन नेकपा एमाले पार्टी कार्यालय बारा बाट सुरु भएको थियो। प्रतिगामी सरकारको षड्यन्त्रविरुद्ध निस्किएको जुलुसमा हजारौँ कार्यकर्ता सहभागी थिए।
जुलुस तथा सभामा नेता पुरुषोत्तम पौडेल, पूर्वमन्त्री ज्वाला कुमारी साह, पूर्वमन्त्री किसान श्रेष्ठ, पूर्वसांसद एकबाल मिया, प्रदेश सांसद मोहम्मद समिर अंसारी, रविन्द्र दास श्रेष्ठ लगायतका नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रम उत्साहपूर्ण, अनुशासित र शक्ति प्रदर्शनका दृष्टिले प्रभावशाली रहेको आयोजकले जनाएको छ।