प्रसौनी गाउँपालिकामा ५०% अनुदानमा गहुँको बिउ वितरण : किसानमा खुशी

25

बारा , ३० कार्तिक

प्रसौनी गाउँपालिकाले आफ्ना स्थानीय कृषकलाई लक्षित गरी ५० प्रतिशत अनुदानमा उपलब्ध गराइने गहुँका बिउ आइतबार एक औपचारिक कार्यक्रममार्फत वितरण गरेको छ। आईतबार सम्पन्न उक्त वितरण कार्यक्रममा किसानहरूको उल्लेखनीय उपस्थिति थियो।

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष विनोद प्रसाद जैसवालले कृषि नै गाउँपालिकाको मुख्य आधार भएकाले उत्पादन वृद्धि र आय वृद्धिका लागि किसानमैत्री कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताउनुभयो। उहाँले कृषकलाई गुणस्तरीय बिउ, प्रविधि, तालिम र आवश्यक सहयोगका कार्यक्रमहरू निरन्तर अघि बढाइने प्रतिबद्धता जनाउनुभयो।

यस वर्षका लागि गाउँपालिकाले एन.एल. र ‘विजय’ जातका उच्च उत्पादन क्षमता भएका गहुँका बिउ किसानलाई ५० प्रतिशत अनुदानमा उपलब्ध गराइरहेको छ। बिउ वितरण प्रक्रियामा कृषि शाखा प्रमुख सुनिल महतो र लेखा प्रमुख प्रेमबाबु प्रसाद सक्रिय रूपमा संलग्न रहेका थिए।

कृषि शाखाका अनुसार योग्यतामान्य किसानले समयमै निवेदन दिएका आधारमा बिउ प्राप्त गर्दै आएका छन्। बिउ वितरण निरन्तर जारी रहेको र निवेदन दिएका कृषकले आफ्नो बिउ तोकिएको समयमा अनिवार्य रूपमा लिन जान आग्रह गरिएको छ।

किसानहरूले सहुलियत दरमा उपलब्ध गराइएको बिउले यस वर्ष उत्पादनमा सकारात्मक प्रभाव पार्ने आशा व्यक्त गरेका छन्। गाउँपालिकाले कृषि आधुनिकीकरणका थप कार्यक्रम पनि अघि ल्याउने तयारी गरिरहेको जनाएको छ।

Leave A Reply

Your email address will not be published.