बारा , ०१ मँसिर
कलैया उपमहानगरपालिका–१४ को बघवन बुथमा जनमत पार्टीले आईतबार जेन–जी पुस्ताका युवाहरूको भेला सम्पन्न गर्दै १९ सदस्यीय बुथ युवा दस्ता औपचारिक रूपमा गठन गरेको छ। संगठन सुदृढीकरण र स्थानीय संरचना विस्तारलाई लक्षित गर्दै आयोजना गरिएको भेलाले निरंजन ठाकुरलाई संयोजक र नितेश राउतलाई उप–संयोजकमा चयन गरेको जनमत पार्टीका स्थानीय कार्यकर्ता बिन्दालाल जयसवालले जानकारी दिएका छन्।
युवा दस्ताको घोषणासँगै स्थानीय तहमा पार्टी गतिविधिलाई बढी प्रभावकारी र जनमुखी बनाउने उद्देश्य राखिएको बताइएको छ। नयाँ नेतृत्वलाई स्वागत गर्दै बुथ क्षेत्रका युवाले सक्रिय राजनीतिक पहलकदमी तथा जनताको समस्यामा प्रत्यक्ष संलग्न भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उक्त कार्यक्रममा जनमत पार्टीको जिल्ला ईन्चार्ज शिवनाथ पटेलले युवाशक्ति नै संगठन सुदृढीकरणको मेरुदण्ड भएको उल्लेख गर्दै “स्थानीय बुथबाटै वास्तविक जनमत निर्माण हुन्छ, अनि त्यसकै आधारमा प्रदेश र केन्द्रमा प्रभावकारी राजनीति मात्र सम्भव हुने बताएका छन्।
त्यसैगरी पुर्व प्रदेश सभा सदस्य एवम् जनमत नेता पारस साहले मधेसमा राजनीतिक चेतनाको स्तर बढिरहेको बताउँदै जनमत पार्टीले उठाउँदै आएका मुद्दामा युवाको सहभागिताले थप विश्वसनीयता बढ्ने बताएका छन्। “युवाहरूले संगठनलाई गतिशील बनाउनेछन्, पार्टीलाई जनतासँग अझ नजिक लैजानेछन्।
संविधानसभा सदस्य एवम् जनमत नेता प्रमोद गुप्ताले जनमत पार्टी युवा–केन्द्रित राजनीति अघि बढाइरहेको बताउँदै आगामी राजनीतिक यात्रामा बुथस्तरका युवाहरू निर्णायक बन्ने दाबी गरेका छन्। उनले पार्टीको नीति, कार्यक्रम र जनताको मुद्दा उठाउने अभियानमा युवालाई अग्रस्थान दिने रणनीतिको समेत चर्चा गरेका थिए।
स्थानीय तहमा संगठन सुदृढीकरणको तयारी
नवगठित १९ सदस्यीय युवा दस्तालाई सक्रियतापूर्वक बुथमा परिचालन गर्ने, स्थानीय समस्या पहिचान गर्ने, जनतासँग प्रत्यक्ष सम्पर्क विस्तार गर्ने र पार्टीका कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्ने जिम्मेवारी दिइएको छ।
पार्टीका अनुसार बुथस्तरमा संगठन विस्तार अभियान हाल बारा, पर्सा र रौतहट जिल्लामा तीव्रगतिमा चलिरहेको छ।
युवाहरूको भूमिका र अपेक्षा
गठन कार्यक्रममा सहभागी युवाहरूले आफ्नो ऊर्जा, क्षमता र स्थानीय अनुभूतिको प्रयोग गर्दै संगठनलाई तल्लो तहसम्म सुदृढ बनाउने अभिव्यक्ति दिए। उनीहरूले आगामी चुनावी तयारी, स्थानीय मुद्दा उठाउने काम तथा जनतासँग नियमित भेटघाटलाई प्राथमिकतामा राख्ने बताएका छन्।
नेताहरूले नवगठित युवा दस्ताले पार्टीको संगठनात्मक संरचना बलियो बनाउँदै मधेसकेन्द्रित राजनीतिक मुद्दामा प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।