विभिन्न प्रतिकूलता बीच किसानलाई धान भित्र्याउने ठूलो चटारो
कलैया ,०१ मँसिर
धान रोपाइँको समयमा पर्याप्त पानी नपर्ने, धान पाक्न थालेको संवेदनशील चरणमै बाढी आउनु तथा मल–खादको अभावले बालीमा प्रत्यक्ष असर पर्नु—यस्ता एकपछि अर्को चुनौती झेल्दै आएका किसानहरू अहिले उत्पादन भएको धान भित्र्याउन निकै चटारोमा छन्।
सिँचाइ अभावका कारण ढिलो वा अपूरो रोपाइँ गर्नुपरेको धेरै किसानको अनुभव छ। त्यसमाथि धान पाक्ने बेलामा आएको असिनापानी र स्थानीय नदी–नालाबाट आएको बाढीले खेतमा उभिएको धानका बोटहरू ढलेका, भिजेका तथा केही क्षेत्रमा झन् नष्टसमेत भएका छन्। मल–खाद अभावले बालीको वृद्धि र उत्पादनमा पनि कमी आएको किसानहरूको गुनासो छ।
यस्ता कठिन अवस्थामध्ये पनि खेतमै पाकेको धान बिग्रिन नदिन किसानहरू बिहानैदेखि कटनी, बोकाइ र भण्डारणको काममा खटिन बाध्य भएका छन्। मौसम अस्थिर भइरहेकाले ढिलो गर्नु जोखिमपूर्ण हुने हेक्का राख्दै किसानहरू अहिले धान भित्र्याउने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइरहेका छन्।
महागढीमाई वडा नं २ का किसान गोपिचन गिरीको अनुसार खर्च बढेको, उत्पादन अपेक्षित नभएको र खेतीपातीमा जोखिम बढेको भए पनि झन्डै वर्षभरि लगानी र पसिना खन्याएको धान जोगाउनु नै अहिलेको मुख्य लक्ष्य बनेको बताएका छन्।
कृषि प्राविधिक र स्थानीय तहले समेत पछिल्लो समय मौसम अस्थिर भएको कारण पाकेको धान छिटो कटनी गरी सुरक्षित भण्डारण गर्न किसानलाई आग्रह गरेको छ ।