प्रधानमन्त्री कार्कीको विवादास्पद अभिव्यक्तिको विरोधमा रौतहटका मुस्लिम अगुवाद्वारा राष्ट्रपतिलाई ज्ञापनपत्र

29

रौतहट , ११ मंसिर

सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले मुस्लिम समुदायप्रति देखाएको भनिएको बेवास्ता र अन्यायपूर्ण व्यवहारको विरोध गर्दै रौतहटका मुस्लिम अगुवाहरूले बिहीबार राष्ट्रपति कार्यालय शीतल निवास र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा ज्ञापनपत्र बुझाएका छन्।

प्रधानमन्त्रीको हालैको विवादास्पद अभिव्यक्तिका कारण मुस्लिम समुदायको भावनामा गम्भीर चोट पुगेको भन्दै जमियत उलमा इस्लाम नेपालले जिल्ला प्रशासन कार्यालय रौतहटमार्फत नेपालका राष्ट्रपति रामचन्द्र पौडेलका नाममा एक महत्त्वपूर्ण र प्रभावकारी ज्ञापनपत्र पेस गरेको हो।

ज्ञापनपत्रमा उल्लेख भएअनुसार प्रधानमन्त्री कार्कीको उक्त अभिव्यक्तिले मुस्लिम समुदाय विशेषगरी मुस्लिम महिलाहरूको भावना गरिमा र संवैधानिक अधिकारलाई गम्भीर रूपमा आघात पुर्‍याएको छ। ज्ञापनपत्रमा कडा शब्दमा भनिएको छ कि विश्वका कुनै पनि मुस्लिम देश वा समाजमा मुस्लिम बालबालिका वा महिलालाई जीवितै गाड्ने कुनै परम्परा छैन।

इस्लामले यस्तो अमानवीय प्रथालाई सदियौँअघि नै समाप्त गरिसकेको छ र महिलालाई सम्मान सुरक्षा, शिक्षा तथा समान अधिकार प्रदान गरेको छ। ज्ञापनपत्रमा थप स्पष्ट पारिएको छ।

ज्ञापनपत्र बुझाउने क्रममा मुस्लिम अगुवाहरूले प्रधानमन्त्रीले आफ्नो दिएको अभिव्यक्ति सजिलै फिर्ता लिन तथा आफ्नो पदिय दायित्वमा केन्द्रित रहन सम्पूर्ण मुस्लिम समुदायको तर्फबाट जोडदार माग गरेका छन्। उनीहरूले प्रधानमन्त्रीको टिप्पणीलाई साम्प्रदायिक सद्भाव खल्बल्याउने प्रयासको रूपमा समेत लिएको बताएका छन्।

ज्ञापनपत्र औपचारिक रूपमा जिल्ला प्रशासन कार्यालय गौरमा बुझाइएको थियो। जमियत उलमा इस्लाम नेपालका सचिव मौलाना शेख अर्निसुर रहमानले जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारीलाई उक्त ज्ञापनपत्र शीघ्र राष्ट्रपति कार्यालय शीतल निवास काठमाडौंमा पुर्‍याइदिन हुन अनुरोध गरेका छन्।

Leave A Reply

Your email address will not be published.