राजकुमार यादव
रौतहट , ०६ पौष
विश्व शान्ति र सद्भावको सन्देश फैलाउने उद्देश्यले आइतबार रौतहटको समनपुरमा विश्व ध्यान दिवसको अवसरमा विशेष कार्यक्रम सम्पन्न भएको छ।
गढीमाई नगरपालिका कार्यालयको आयोजनामा समनपुरस्थित ग्यालेक्सी पब्लिक स्कुलको प्रांगणमा आयोजित उक्त कार्यक्रममा जीवन विज्ञानका प्रदेश प्रमुख देवनाथ सिंह प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो भने गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमणि जैसवाल विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
कार्यक्रमको अध्यक्षता गर्दै गढीमाई नगरपालिकाका नगर प्रमुख श्याम प्रसाद यादवले ध्यानले मानसिक शान्ति, स्वास्थ्य सुदृढीकरण तथा सामाजिक सद्भाव प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै यस्ता सकारात्मक कार्यक्रमलाई नगरपालिकाले आगामी दिनमा समेत निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा बोल्दै गढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र राय यादवले ध्यान अभ्यासले मानिसको मानसिक स्वास्थ्य, सुख ,शान्ति र जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउने भन्दै दैनिक जीवनमा ध्यानको आवश्यकता रहेको बताए।
कार्यक्रममा स्थानीय बासिन्दा, विद्यार्थी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रम सञ्चालन वडा नम्बर १ का पूर्व वडाध्यक्ष रामविन्य यादवले मनोरञ्जनात्मक शैलीमा गर्नुभएको थियो।
विश्व ध्यान दिवसका अवसरमा आयोजित यस कार्यक्रमले समाजमा शान्ति, सहिष्णुता र सकारात्मक सोच प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।