मधेशसमाचार

बंगलादेशमा हिन्दु अल्पसंख्यकमाथि भइरहेको अत्याचार तत्काल रोक्न राष्ट्रिय समता पार्टी नेपालको माग

दिपक चौरसिया

बिरगंज, ०७ पौष

राष्ट्रिय समता पार्टी नेपालले बंगलादेशमा अल्पसंख्यक हिन्दु समुदायमाथि भइरहेको दमन, आक्रमण र अमानवीय घटनाप्रति गम्भीर आपत्ति जनाउँदै ती घटनाहरू तुरुन्त रोक्न माग गरेको छ।

पार्टीको केन्द्रीय कार्य समितिले २० डिसेम्बर २०२५ मा कलंकी–काठमाडौंबाट जारी गरेको विज्ञप्तिमा पछिल्लो समय विशेष गरी हिन्दु अल्पसंख्यक समुदायलाई लक्षित हिंसात्मक घटनाहरू बढ्दै गएकोप्रति गहिरो पीडा, आक्रोश र चिन्ता व्यक्त गरिएको छ। विज्ञप्तिमा उल्लेख छ कि यस्ता घटनाले केवल एक समुदाय मात्र होइन, सम्पूर्ण मानव सभ्यता, सहअस्तित्व र विश्व मानवीय संस्कृतिमाथि प्रश्न उठाएको छ।

विज्ञप्तिमा भनिएको छ कि राज्यको मुख्य दायित्व आफ्ना नागरिकको जीवन, मर्यादा, धार्मिक स्वतन्त्रता र सुरक्षा सुनिश्चित गर्नु हो। कुनै समुदाय बारम्बार राज्य संयन्त्रको कमजोरी, मौनता वा उदासीनताका कारण लक्षित हुनु गम्भीर शासकीय असफलता र राष्ट्रधर्मको उल्लङ्घन हो। हिन्दु अल्पसंख्यकमाथि भइरहेका घटनाले बंगलादेशको शासन व्यवस्था, मानवअधिकारको स्थिति र अल्पसंख्यक संरक्षणको अन्तर्राष्ट्रिय चिन्ता बढाएको पार्टीको ठहर छ।

धर्म, जात वा पहिचानको आधारमा हुने कुनै पनि हिंसा, दमन वा अत्याचार सभ्य समाजका लागि अस्वीकार्य, निन्दनीय र आपराधिक भएको विज्ञप्तिमा उल्लेख छ। यस्ता घटनामा मौन बस्नु अन्यायलाई अप्रत्यक्ष समर्थन गर्नु सरह हुने पनि भनिएको छ।

राष्ट्रिय समता पार्टी नेपालले बंगलादेशमा हिन्दु समुदायमाथि भएका सबै हिंसात्मक घटनाको कडा शब्दमा निन्दा गर्दै पीडितहरूप्रति गहिरो समवेदना, ऐक्यबद्धता र समर्थन व्यक्त गरेको छ। पार्टीका महासचिव डा. अभिषेक तिवारीले बंगलादेश सरकारलाई दोषीहरू पहिचान गरी निष्पक्ष, पारदर्शी र कडा कानुनी कारबाही गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन ठोस संरचनात्मक कदम चाल्न माग गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button