हरिकिशोर शर्मा
पर्सा , ०७ पौष
पर्सा जिल्लाबाट २४० किलो लागूऔषध चरेससहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार गोप्य सूचनाको आधारमा गरिएको चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
पुस ५ गते साँझ करिब ७ः३० बजे वीरगंज महानगरपालिका–२२, जगरनाथपुर ढाँटस्थित सडकखण्डमा वडा प्रहरी कार्यालय श्रीपुर पर्साबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा मकवानपुरबाट वीरगञ्जतर्फ आउँदै गरेको ना.३ ख ५०९३ नम्बरको ट्रक शंका लागेर रोकिएको थियो।
चेकजाँचका क्रममा ट्रकको क्याबिनको माथिल्लो भागमा फल्स बनाएर लुकाइछिपाइ राखिएको लागूऔषध चरेसजस्तो देखिने पदार्थ २४० किलो फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिनुभयो।
पक्राउ पर्नेमा ट्रक चालक मकवानपुर जिल्ला थाहा नगरपालिका–११ निवासी २९ वर्षीय सरोज मोक्तान र सोही स्थानका २१ वर्षीय नवराज लोलाई रहेका छन्। उनीहरूलाई नियन्त्रणमा लिएर लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।