दलित आधारभूत विद्यालय गम्हरियामा नयाँ विद्यालय व्यवस्थापन समिति चयन

13

रुपेश यादव

रौतहट,०७ पौष

रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिका–१ स्थित श्री दलित आधारभूत विद्यालय, गम्हरियामा नयाँ विद्यालय व्यवस्थापन समिति (व्यवस्थापन समिति) चयन गरिएको छ।

शुक्रबार सम्पन्न अभिभावक भेलाले अभिभावकहरूबाट ६ जना सदस्य सर्वसम्मत रूपमा चयन गरेको हो। चयन भएका सदस्यहरूमा रामप्रवेश राय यादव, हरिन्द्र राय यादव, नगिना देवी राम, सहोदरी देवी राम (दलित महिला सदस्य), नन्दलाल राय यादव र सम्फुल खातुन रहेका छन्।

नवचयनित ६ सदस्यहरूमध्येबाट अध्यक्ष चयन गरिने जानकारी विद्यालयका प्रधानाध्यापक हिरालाल यादवले दिए। उनका अनुसार समितिमा एक जना शिक्षाप्रेमी र एक जना वडा अध्यक्षलाई सदस्यका रूपमा मनोनित गरिएको छ। प्रधानाध्यापक सदस्य रहने व्यवस्थासहित कुल ९ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन भएको छ।

लामो समयसम्म व्यवस्थापन समिति गठन नहुँदा शिक्षक भर्ना, प्रशासनिक निर्णय तथा विभिन्न शैक्षिक गतिविधिहरू प्रभावित हुँदै आएको थियो। नयाँ समिति चयन भएसँगै विद्यालयको शैक्षिक तथा भौतिक सुधारमा सकारात्मक परिवर्तन आउने अपेक्षा गरिएको छ।

अभिभावक भेलामा वडा अध्यक्ष विजय कुमार यादव, विभिन्न राजनीतिक दलका प्रतिनिधि, नगरपालिकाका प्रतिनिधि उपेन्द्र प्रसाद साह, स्थानीय बुद्धिजीवी, युवा तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Leave A Reply

Your email address will not be published.