प्रादेशिक अस्पताल कलैयाको सुधारको माग गर्दै जेन जी एन्ड युथ अफ बाराद्वारा ध्यानाकर्षण

9

बारा , ०७ पौष

प्रादेशिक अस्पताल कलैयामा देखिएका सेवा, व्यवस्थापन तथा कार्यशैलीसम्बन्धी समस्या समाधानको माग गर्दै जेन जी एन्ड युथ अफ बाराका युवाहरूले अस्पताल प्रशासनको ध्यानाकर्षण गराएका छन्।

अस्पताल प्रमुखलाई बुझाइएको ध्यानाकर्षण पत्रमा लामो समयदेखि चल्दै आएको परम्परागत र अव्यवस्थित अभ्यास अन्त्य गर्दै अस्पतालको समग्र सुधार गर्न माग गरिएको छ। पत्रमा अस्पतालका चिकित्सक तथा कर्मचारीहरूले ड्युटी समयमा जिम्मेवारी इमान्दारीपूर्वक वहन नगर्ने, सरकारी अस्पतालको ड्युटी समयमै निजी क्लिनिकमा समेत उपस्थित हुने गरेको गुनासो उल्लेख गरिएको छ।

ध्यानाकर्षण पत्रमा ड्युटी आवरमा सम्पूर्ण डाक्टर तथा स्वास्थ्यकर्मी अनिवार्य रूपमा उपस्थित हुनुपर्ने, विदामा रहेका चिकित्सक तथा कर्मचारीको स्थानमा वैकल्पिक व्यवस्था मिलाउनुपर्ने माग गरिएको छ। साथै, सरकारी कार्यालयको समयअनुसार गर्मी याममा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म र जाडो याममा १० देखि ४ बजेसम्म सेवा दिनुपर्नेमा प्रादेशिक अस्पतालको ओपीडी हाल १० देखि २ बजेसम्म मात्र सञ्चालन भइरहेको भन्दै त्यसमा तत्काल सुधार गर्न आग्रह गरिएको छ।

पत्रमा सरकारबाट प्राप्त ९८ प्रकारका निःशुल्क तथा बिमा औषधि सेवाग्राहीले घण्टौं लाइनमा बसेर पनि कहिले पाउने, कहिले नपाउने अवस्था रहेको उल्लेख गरिएको छ। चेकजाँचका क्रममा प्रयोगशाला तथा विभिन्न फाँटमा देखिएको आफन्तवाद र सिफारिस अन्त्य गरी टोकन प्रणाली लागू गर्नुपर्ने, सिकिस्त बिरामी तथा ज्येष्ठ नागरिकलाई प्राथमिकताका साथ सेवा दिनुपर्ने माग गरिएको छ।

यस्तै, कमिसनको खेलमा अनावश्यक रूपमा मल्टिभिटामिन तथा बढी औषधि लेख्ने प्रवृत्ति, कलैया अस्पतालमै सुविधा हुँदाहुँदै पनि बिरामीलाई नजिकका निजी अस्पताल वा क्लिनिकमा रेफर गर्ने कार्यप्रति आपत्ति जनाइएको छ। पत्रमा राजनीतिक नियुक्ति अन्त्य गरी दक्ष, योग्य र इमान्दार विशेषज्ञ चिकित्सक तथा कर्मचारीको व्यवस्था गर्नुपर्ने माग पनि समेटिएको छ।

युवाहरूले अस्पताल सुधारका लागि ११ बुँदे मागसमेत अघि सारेका छन्। जसमा ड्युटी आवरमा चिकित्सकको उपस्थिति सुनिश्चित गर्ने, चिकित्सक तथा स्वास्थ्यकर्मीको नाम र सम्पर्क नम्बर पारदर्शी बनाउने, अस्पतालभित्र एटीएम र टिकट तथा औषधि काउन्टरमा QR पेमेन्टको व्यवस्था गर्ने, २४ सै घण्टा निःशुल्क औषधि उपलब्ध गराउने, ओपीडी समय १० देखि ४ बनाउने, कम्तीमा १०० शैयाको अस्पताल बनाउने, रेफर प्रणाली अन्त्य गर्ने, आवश्यक स्वास्थ्य सामग्री तथा कार्य वातावरण सुधार गर्ने, नागरिकलाई छिटो–छरितो र गुणस्तरीय सेवा दिने तथा बिमा सेवामा देखिएको लामो लाइनको समस्या समाधान गर्नुपर्ने माग समावेश छन्।

जेन जी एन्ड युथ अफ बाराले अस्पताल प्रशासनसँग यथाशीघ्र यी मागहरू सम्बोधन गरी सेवाग्राहीमैत्री स्वास्थ्य सेवा सुनिश्चित गर्न आग्रह गरेका छन्।

Leave A Reply

Your email address will not be published.