रौतहट , ०७ पौष
पुस महिनाको सुरुवातसँगै नेपालको तराई–मधेश क्षेत्रमा अत्यधिक चिसो र बाक्लो हुस्सुको प्रकोप बढ्न थालेको छ। रौतहट, बारा, पर्सा, सर्लाही, महोत्तरी र धनुषा लगायतका मध्य तथा पूर्वी तराईका जिल्लाहरूमा विगत केही दिनदेखि घाम नलाग्दा जनजीवन कष्टकर बनेको हो । बिहीबारदेखि अचानक मौसममा आएको परिवर्तनले यस क्षेत्रमा शीतलहरको स्थिति सिर्जना गरेको हो।
विगत केही दिन अघिसम्म बिहानैदेखि पारिलो घाम लाग्ने गरेकोमा हाल आएर बाक्लो हुस्सु र कुहिरोले गर्दा दिउँसो समेत अँध्यारो महसुस हुन थालेको हो। दृश्यात्मकता कम हुँदा सडकमा यातायातका साधनहरू हेडलाइट बालेर मन्द गतिमा चल्न बाध्य छन् भने तराईका प्रमुख विमानस्थलहरूबाट हुने उडानहरू समेत प्रभावित वा रद्द भएका छन्। चिसोका कारण बजारमा मानिसहरूको चहलपहल ह्वात्तै घटेको छ। स्थानीयहरू चोक–चोकमा दाउरा र टायर बालेर आगो ताप्दै चिसो छल्ने प्रयास गरिरहेका देखिन्छन्।
तराईमा हरेक वर्ष दोहोरिने शीतलहरले यस पटक पनि गरिब भूमिहीन र दैनिक ज्यालादारी गर्ने मजदुरहरूलाई सबैभन्दा बढी प्रहार गरेको हो । पर्याप्त न्यानो कपडा र ओढ्ने–ओछ्याउने अभावमा विपन्न समुदायका मानिसहरू कष्टकर जीवन बिताउन बाध्य छन्।
घाम नदेखिएकोले हातखुट्टा कठ्यांग्रिन थालेका छन् बाहिर निस्कनै गाह्रो भएको छ, रौतहटका एक स्थानीयले आफ्नो पीडा सुनाए। कतिपय परिवारले चिसोबाट बच्न प्लास्टिक र पुराना कपडा जलाउने गरेका छन्, जसले फोक्सोको समस्या र अन्य स्वास्थ्य जोखिम निम्त्याउने खतरा बढेको छ।
लामो समयसम्म घाम नलाग्दा र ओसिलोपन बढ्दा कृषि क्षेत्रमा ठुलो नोक्सानी पुग्ने देखिएको छ। विशेष गरी आलु र गोलभेंडा जस्ता मौसमी तरकारीमा ‘डढुवा रोग’ लाग्ने र बोटहरू सुक्ने समस्याले कृषकहरू चिन्तित छन्।
स्वास्थ्यकर्मीहरूका अनुसार चिसोका कारण अस्पतालहरूमा दम, निमोनिया, रुघाखोकी र ज्वरोका बिरामीहरूको संख्या बढ्न थालेको छ। विशेष गरी बालबालिका र वृद्धवृद्धा यसको प्रत्यक्ष मारमा परेका छन्।
मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिनसम्म चिसो अझै बढ्न सक्ने चेतावनी दिएको छ। स्वास्थ्यकर्मीहरूले चिसोबाट बच्न निम्न सुझावहरू पालना गर्न आग्रह गरेका छन्:शरीर पूरै ढाकिने गरी बाक्लो र न्यानो लुगा लगाउने, तातो झोलिलो खानेकुरा र मनतातो पानीको पर्याप्त सेवन गर्ने, कोठामा आगो वा हिटर बाल्दा हावा ओहोरदोहोर हुने ठाउँ खुला राख्ने निसास्सिएर हुने दुर्घटनाबाट बच्न, अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कने, विगतका वर्षहरूमा शीतलहरका कारण ज्यान गुमाउने घटनाहरू समेत भएकाले स्थानीय प्रशासन र सरकारले बेलैमा सतर्कता अपनाउनु पर्ने देखिन्छ। चोकहरूमा दाउराको व्यवस्था गर्ने, विपन्न परिवारलाई कम्बल वितरण गर्ने र स्वास्थ्य चौकीहरूमा आवश्यक औषधिको मौज्दात राख्ने कार्यमा ढिलाइ गर्न नहुने सरोकारवालाहरूको माग रहेको छ।