मधेशसमाचार

बंगलादेशमा हिन्दु युवकको हत्या मानवताविरोधी अक्षम्य अपराध : पूर्वमुख्यमन्त्री जितेन्द्र सोनल

बारा , ०८ पौष

मधेस प्रदेशका पूर्वमुख्यमन्त्री जितेन्द्र सोनलले बंगलादेशमा हालै एक हिन्दु युवकको क्रूरतापूर्वक गरिएको हत्या मानवताविरोधी अक्षम्य अपराध भएको बताएका छन्। बंगलादेशमा जारी सरकारविरोधी प्रदर्शनका क्रममा त्यहाँका हिन्दु युवक दीपुचन्द्र दासको निर्मम हत्या भएको घटनाले विश्व समुदायलाई नै स्तब्ध पारेको भन्दै उनले उक्त घटनाको कडा निन्दा गरेका छन्।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेस प्रदेश अध्यक्षसमेत रहेका सोनलले सञ्चारकर्मीहरूसँग कुरा गर्दै भने, “बंगलादेशमा जसरी हिन्दु युवाको बर्बरतापूर्वक हत्या गरियो, त्यो मानवता विरोधी जघन्य आपराधिक घटना हो। यसले नेपाल मात्र होइन, विश्व समुदायलाई नै स्तब्ध बनाएको छ। यस्तो घटनाको जतिसुकै निन्दा गरे पनि कम नै हुन्छ।”

उनले बंगलादेशमा हिन्दु समुदायसहित अन्य धार्मिक अल्पसंख्यकहरूमाथि निरन्तर भइरहेको हिंसा गम्भीर चिन्ताको विषय भएको उल्लेख गर्दै यस्ता घटनाहरू रोक्न नेपाल सरकारले कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिए। साथै, बंगलादेशमा रहेका हिन्दु लगायत धार्मिक अल्पसंख्यक समुदायको मानवअधिकारको संरक्षणका लागि पनि नेपाल सरकारले सक्रिय कूटनीतिक भूमिका खेल्नुपर्ने माग गरे।

पूर्वमुख्यमन्त्री सोनलले बंगलादेशमा हाल महमद युनुस नेतृत्वमा रहेको सरकार जनताको प्रत्यक्ष म्याण्डेटबाट नभई विद्रोहको परिणामस्वरूप बनेको कामचलाउ अन्तरिम सरकार रहेको दाबी गर्दै त्यहाँ शीघ्र जनताको म्याण्डेटबाट निर्वाचित सरकार गठन हुनुपर्ने धारणा राखे। त्यसका लागि अन्तर्राष्ट्रिय समुदायले समेत सकारात्मक र जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिएका छन्।

उनका अनुसार बंगलादेशमा राजनीतिक स्थिरता, अल्पसंख्यकको सुरक्षा र मानवअधिकारको प्रत्याभूति बिना क्षेत्रीय शान्ति र लोकतान्त्रिक मूल्यहरूको संरक्षण सम्भव नहुने भन्दै अन्तर्राष्ट्रिय चासो र पहल अपरिहार्य रहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button