रिलायन्स सुगर उद्योगबाट निस्किने फोहरले वातावरण र जनजीवनमा गम्भीर असर पार्दै

24

कलैया, ८ पौष

बाराको मनहर्वा-५ श्रीपुरमा रहेको रिलायन्स सुगर एन्ड केमिकल ईन्डस्ट्रीज (उखु उधोग) बाट निस्किने फोहरले आसपासको वातावरण, कृषि जमिन र स्थानीय बासिन्दाको स्वास्थ्यमा गम्भीर असर पारिरहेको गुनासो बढ्दै गएको छ।

विशेषगरी उखु क्रसिङ उद्योगबाट निस्कने तरल फोहर (फोहोर पानी), ठोस फोहर र दुर्गन्धयुक्त ग्यास उचित व्यवस्थापन नहुँदा समस्या झन् जटिल बन्दै गएको हो।

उद्योगबाट निस्कने कालो र गाढा तरल फोहर सिधै बंगरी नदीमा मिसिँदा पानी प्रदूषित भइरहेको स्थानीयको भनाइ छ। यसले खानेपानीका स्रोत दूषित हुनुका साथै माछा, जलचर र सिँचाइमा समेत नकारात्मक प्रभाव पारेको छ। किसानहरूका अनुसार यस्तो पानी खेतमा पुग्दा बालीनाली सुक्ने, माटोको उर्वराशक्ति घट्ने र उत्पादनमा गिरावट आउने समस्या देखिएको छ।

त्यसैगरी, उखु पेल्दा बाँकी रहने खोइ (बगास), माटो र अन्य ठोस फोहर खुला ठाउँमा थुपारिँदा दुर्गन्ध फैलिनुका साथै झिँगा, लामखुट्टे बढ्ने समस्या देखिएको छ। यसले स्थानीय बासिन्दामा छाला रोग, श्वासप्रश्वास सम्बन्धी समस्या र अन्य स्वास्थ्य जोखिम बढाएको जनाइएको छ।

वातावरणविद्हरूका अनुसार उखु उद्योगले वातावरणीय मापदण्ड पालना गर्दै फोहर प्रशोधन केन्द्र (ETP) सञ्चालन गर्नुपर्ने कानुनी व्यवस्था भए पनि रिलायन्सले त्यसलाई पुर्ण रुपमा पालना गरेको देखिदैन।

प्रदुषण बारे उधोग प्रशासनले समेत केही गर्न नसकिएको स्विकार गरेको छ। उधोगका वरिष्ठ प्रशासकिय अधिकृत रामनारायण यादवले उधोगबाट उत्पन्न हुने प्रदुषण तथा फोहर व्यस्वस्थापनका लागि आवस्यक कदम चालिएपनि पुर्ण रुपमा व्यवस्थित गर्न नसकिएको स्विकार गरेका छन।

‘हामिले नेपाल सरकारको मापदण्ड अनुसार प्रदुषणको चेकजांच अनुसार कार्य संचालन गर्दै आएका छौं।’ अधिकृत यादवले भने, ‘तर पुर्ण रुपले प्रदुषण नियन्त्रण गर्न सकेका छैनौ।’ उनले उधोगबाट दुर्गन्ध नफैलिएको दाबी समेत गरेका छन।

यादवले उधोगबाट निस्किने पानी ‘ट्यांक हल’मा पठाएर त्यहांबाट सुद्धिकरण गरेर बंगरी खोलामा खसाल्ने गरेको दावी गरेपनी यथार्तमा त्यस्तो नभएको स्थानियहरुको भनाई छ।

रिलायन्सले यसवर्ष करिब ३० लख क्विन्टल उखु क्रसिङ्ग गर्ने लक्ष्य राखेको छ। पुस ३ गतेदेखी क्रसिङ्ग चन्चालन गरेको उधोगले लगभग ४ महिनाम उक्त मात्राको उखु क्रसिङ्ग गर्ने लक्ष्य राखिएको उधोगका केन म्यानेजर अवध झाले बताएका छन।

उधोग संचालन अवधिभर उधोग आसपासका दर्जनौ गाउँका हजारौ नागरिक माथी दुर्गन्ध, प्रदुषण र दुसित वातावरणमा बस्नुपर्ने बाध्यता हुनेछ।

यस विषयमा सम्बन्धित निकायले उद्योगलाई कडाइका साथ वातावरणीय मापदण्ड पालना गराउने, फोहरको वैज्ञानिक व्यवस्थापन गर्ने र नियम उल्लङ्घन गर्ने उद्योगमाथि कारबाही गर्नुपर्ने स्थानीयको माग छ।

स्थानीय प्रशासन र वातावरण संरक्षणसँग सम्बन्धित निकायको प्रभावकारी कदम नचालिए उखु उद्योगबाट निस्किने फोहर दीर्घकालीन वातावरणीय संकटको कारण बन्न सक्ने चिन्ता बढ्दै गएको छ।

Leave A Reply

Your email address will not be published.