रिलायन्स सुगर मिल्सको प्रदूषणले बस्ती नै जोखिममा, प्रशासन मौन

16

कलैया , ०९ पौष

बाराको मनहर्वा–५ श्रीपुरस्थित रिलायन्स सुगर एन्ड केमिकल इन्डस्ट्रीजबाट निस्किने प्रदूषणले मानव बस्ती, कृषि जमिन र जलस्रोतमा गम्भीर असर पारेको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन्। उद्योगले वातावरणीय मापदण्ड र वार्षिक वातावरणीय परीक्षण नगरी उखु क्रसिङ सुरु गर्दा समस्या थप चर्किएको स्थानीयको आरोप छ।

उखु क्रसिङका क्रममा निस्कने कालो फोहर पानी सिधै बंगरी नदीमा मिसिँदा नदीको पानी प्रयोग गर्न अयोग्य बनेको स्थानीय बताउँछन्। उक्त पानी खेतबारीमा पुगेपछि बालीनाली सुक्ने, माटोको उर्वराशक्ति घट्ने र उत्पादनमा भारी गिरावट आएको किसानहरूको गुनासो छ। नदीमा माछा र जलचर मर्न थालेको भन्दै दीर्घकालीन वातावरणीय संकटको चेतावनी दिइएको छ।

उद्योग परिसरमा उखु पेल्दा निस्कने खोइ (बगास), माटो र अन्य ठोस फोहर खुला ठाउँमा थुपारिँदा आसपासका बस्तीमा दुर्गन्ध फैलिएको छ। झिँगा र लामखुट्टे अत्यधिक बढ्दा छाला रोग, श्वासप्रश्वास समस्या, दमका बिरामी र बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर परेको स्थानीयको भनाइ छ।

श्रीपुर, मनहर्वा, झिटकैया, बजनी, अवधापुर, सशस्त्र प्रहरी बल १२ गण आसपासका बस्तीमा उद्योगबाट निस्कने मुसिलो धुवाँ, उखुको कणिका तथा चिनी प्रशोधनमा प्रयोग हुने चुन र गन्धकले जनजीवन कष्टकर बनेको सखुई निवासी धुर्व यादवले बताए। “धुवाँले आँखा पोल्ने, सास फेर्न गाह्रो हुने समस्या छ, तर सुनुवाइ छैन,” उनले भने।

वातावरणविद्हरूले उखु उद्योग सञ्चालन गर्न फोहर प्रशोधन केन्द्र (ETP) अनिवार्य भए पनि रिलायन्स सुगर मिल्सले त्यसलाई प्रभावकारी रूपमा सञ्चालन नगरेको बताएका छन्। स्थानीयवासीले उद्योग र प्रशासनबीच प्रदूषण नियन्त्रणका लागि समझदारी भए पनि अहिलेसम्म कुनै ठोस कदम नचालिएको आरोप लगाएका छन्।

यता उद्योगका वरिष्ठ प्रशासकीय अधिकृत रामनारायण यादवले प्रदूषण नियन्त्रणमा उद्योग लागिरहेको दाबी गर्दै पूर्ण रूपमा समस्या समाधान गर्न नसकिएको स्वीकार गरेका छन्। “सरकारी मापदण्डअनुसार काम गरिरहेका छौं, तर सबै प्रदूषण नियन्त्रण गर्न सकेका छैनौं,” उनले भने। उद्योगबाट दुर्गन्ध नफैलिएको दाबी गरे पनि स्थानीयले त्यसलाई अस्वीकार गरेका छन्।

उद्योगका केन म्यानेजर अवध झाका अनुसार यस वर्ष करिब २५ देखि ३० लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखिएको छ। पुस ३ गतेदेखि सुरु भएको क्रसिङ करिब चार महिना सञ्चालन हुने जनाइएको छ। तर सो अवधिभर हजारौँ नागरिक प्रदूषित वातावरणमा बस्न बाध्य हुने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्।

स्थानीयवासीले सम्बन्धित निकायलाई तत्काल वातावरणीय परीक्षण गराउन, प्रदूषण नियन्त्रण प्लान्ट जडान गर्न र मापदण्ड उल्लङ्घन गर्ने उद्योगमाथि कडा कारबाही गर्न माग गरेका छन्। समयमै प्रभावकारी कदम नचालिए रिलायन्स सुगर मिल्स क्षेत्रका लागि दीर्घकालीन स्वास्थ्य र वातावरणीय संकटको केन्द्र बन्न सक्ने चेतावनी दिइएको छ।

Leave A Reply

Your email address will not be published.