रूपेश यादव
रौतहट ,१० पौष
मधेश प्रदेशमा सञ्चालित चिनी मिलका सञ्चालकहरुले उखु खरिद बिक्रीका नाममा लगाएको कथित सिन्डिकेटको विरोधमा रौतहटका उखु किसानहरुले आन्दोलनको घोषणा गरेका छन्।
किसानहरुको आरोप अनुसार रौतहट, बारा, पर्सा र सर्लाही जिल्लामा सञ्चालित चिनी उद्योगहरुले आपसी सहमतिमा आफ्नै जिल्लाभित्र मात्र उखु खरिद गर्ने निर्णय लागू गरेका छन्।
रौतहट, बारा, पर्सा, सर्लाही लगाएत जिल्लामा सञ्चालित चिनी उद्योगहरुले आफना आफना जिल्ला बाहेक अर्को जिल्लाको उखु खरिद नगर्ने निर्णय गरेका छन ।
एक जिल्लाको उखु अर्को जिल्लाको उद्योगले खरिद नगर्ने भएपछि एक जिल्लाको किसान अर्को जिल्लाको उद्योगलाई उखु बिक्री गर्न नपाउने भएका छन् ।
उद्योगीहरुको यस्तो निर्णयले रौतहटका उखु किसानहरु निकै आक्रोसित भएका छन् ।
उखु खरिद बिक्रीका लागि चिनी उद्योगहरुले लगाएको सिन्डिकेटका कारण रौतहटका किसानहरु अब बारा, पर्सा वा सर्लाहीको चिनी उद्योगलाई उखु बिक्री गर्न नपाउने भएका छन् ।
यहाँका किसानहरुलाई अब आफुले चाहेको जिल्ला बाहिरको उद्योगलाई उखु बिक्री गर्न नपाउने भएका छन भने आफनै जिल्ला रौतहटमा एक मात्र सञ्चालित चिनी उद्योग बाबा बैजुनाथ सुगर एण्ड केमिकल्स उद्योगलाई मात्र उखु बिक्री गर्नुपर्ने बाध्याता भएको छ ।
यस निर्णयका कारण एक जिल्लामा उत्पादन भएको उखु अर्को जिल्लाको चिनी उद्योगले खरिद नगर्ने अवस्था सिर्जना भएको छ।
यसले गर्दा किसानहरुले आफूले चाहेको उद्योगमा उखु बिक्री गर्न नपाउने अवस्था आएको र उनीहरुको व्यापारिक स्वतन्त्रता कुण्ठित भएको किसानहरुको गुनासो छ।
उद्योगीहरुको यस्तो एकपक्षीय निर्णयले आफूहरु आक्रोशित भएको बताउँदै किसानहरुले यसलाई उद्योगीहरुको स्वार्थप्रेरित सिन्डिकेटको संज्ञा दिएका छन्।
यसै सन्दर्भमा आज फतुवा विजयपुर नगरपालिका–९, विजयपुर बजारमा सयाैको संख्यामा भेला भएका उखु किसानहरुले चिनी उद्योगीहरुले आफुखुसी लगाएको सिन्डिकेट तत्काल खारेज गर्न माग गरेका छन्।
भेलामा बोल्ने किसानहरुले सिन्डिकेट नहटाइए कडा आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिएका छन्।
नेपाली कांग्रेसका नेता ज्ञानेन्द्र प्रसाद यादवले रौतहटस्थित बाबा बैजुनाथ सुगर चिनी मिलसहित अन्य जिल्लाका चिनी उद्योगीहरुले उखु खरिदका नाममा लगाएको सिन्डिकेट अविलम्ब खारेज हुनुपर्ने बताए।
किसानले उत्पादन गरेको उखु आफूले चाहेको जुनसुकै चिनी उद्योगलाई निर्वाध रूपमा बिक्री गर्न पाउने अधिकारलाई उद्योगीहरुले जबरजस्ती कुण्ठित गर्न खोजेको उनको आरोप छ।
उनले भने, “उद्योगीहरुले किसानमाथि थोपरेको सिन्डिकेट तत्काल नहटाइए किसानहरु सडक संघर्षमा उत्रिन बाध्य हुनेछन्।”
त्यस्तै फतुवा विजयपुर नगरपालिकाका मेयर प्रत्यासी शिवपुजन यादवले पनि किसानले आफ्नो उखु चाहेको उद्योगमा बिक्री गर्न पाउने स्वतन्त्रता हुनुपर्ने धारणा राखे।
उद्योगीहरुले अन्य जिल्लाको उद्योगमा उखु बिक्री गर्न नदिएर किसानहरुको हक–अधिकारमाथि हस्तक्षेप गरेको उनको भनाइ छ।
यसतै नेता बिजय अधिकारीले बाेल्दै याे निर्णय सरासर गलत रहेको दावी गरे।
उनका अनुसार विगतमा सिन्डिकेट नहुँदा किसानहरुले भुक्तानी छिटो दिने वा सहज पहुँच भएका बारा र सर्लाहीका चिनी उद्योगमा उखु बिक्री गर्ने गरेका थिए। तर हाल सिन्डिकेट लागू भएपछि किसानहरु जिल्ला बाहिर उखु बिक्री गर्न नपाउने अवस्थामा पुगेका छन्।
फतुवा विजयपुर नगरपालिका–९ का वडा अध्यक्ष राकेश यादव (पप्पु यादव)ले पनि उद्योगीहरुले सिन्डिकेट लगाएर किसानहरुमाथि अन्याय गरेको बताए।
भेलामा सहभागी किसानहरुले तत्कालका लागि बाबा बैजुनाथ सुगर चिनी मिललाई उखु बिक्री नगर्ने निर्णय गरेका छन्। समाधान ननिस्केसम्म काटिसकिएको उखु खेतमै राख्ने र काट्न बाँकी उखु मिललाई नदिने निर्णय गरिएको किसानहरुले जानकारी दिए।
विजयपुर बजारमा सम्पन्न भेलाले सिन्डिकेटविरुद्ध आन्दोलनका कार्यक्रमसमेत घोषणा गरेको छ। आन्दोलनको पहिलो चरणमा एक उखु उत्पादक किसान संघर्ष समिति गठन गरी जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुषाललाई ज्ञापनपत्र बुझाउने निर्णय गरिएको छ।
कांग्रेसका युवा नेता ज्ञानेन्द्र प्रसाद यादवको अध्यक्षतामा गठित १० सदस्यीय संघर्ष समितिको उपाध्यक्षमा कुमार शिवाकोटी, सचिवमा राजकरण राय यादव (मुकेश) , कोषाध्यक्षमा सुरेश यादव चयन भएका छन्।
सदस्यहरुमा लालबाबु पटेल, बिजय अधिकारीलगायत रहेका छन्। संघर्ष समितिले माग सुनुवाइ नभए चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएको छ।
यसैबीच कटहरिया नगरपालिका–९, डुमरियामा सञ्चालित बाबा बैजुनाथ सुगर एण्ड केमिकल्स इण्डस्ट्रिजका उद्योगपति बैजु प्रसाद बाबराले भने आफ्नो उद्योगले किसानहरुमाथि कुनै पनि प्रकारको सिन्डिकेट नलगाएको दाबी गरेका छन्।