रौतहटमा समुदाय–प्रहरी साझेदारीअन्तर्गत जनचेतनामूलक कार्यक्रम सम्पन्न 

9

भाग्य नारायण तिवारी

रौतहट , १० पौष

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्ला प्रहरी कार्यालय रौतहट मातहतका विभिन्न प्रहरी इकाइहरूको आयोजनामा बुधबार जिल्लाका विभिन्न स्थानमा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएका छन्।

इलाका प्रहरी कार्यालय पिपरा रजवडा, इलाका प्रहरी कार्यालय कोपवा पिपरिया, प्रहरी चौकी जयनगर, प्रहरी चौकी मठिया तथा अस्थायी प्रहरी पोष्ट जुडीवेलाको संयुक्त आयोजनामा माधवनारायण नगरपालिका वडा नं. ८, बौधिमाई नगरपालिका वडा नं. ६, ईशनाथ नगरपालिका वडा नं. ६ र वडा नं. ४ तथा चन्द्रपुर नगरपालिका वडा नं. २ (असनवाटोल) मा कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रममा सम्बन्धित वडाका स्थानीय भद्रभलादमी, जनप्रतिनिधि, बुद्धिजीवी तथा समाजसेवीहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा जुवा–जुवाखाना तथा जथाभावी कर्जा (ज.ज.क) अपराध न्यूनिकरण, आत्महत्या न्यूनिकरण, जातीय छुवाछुत अन्त्य, महिला हिंसा न्यूनीकरण तथा चोरी नियन्त्रणका विषयमा सचेतना अभिवृद्धि गराइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार समुदाय र प्रहरीबीचको सहकार्य सुदृढ गर्दै सामाजिक अपराध नियन्त्रण तथा शान्ति सुरक्षाको वातावरण मजबुत बनाउने उद्देश्यले यस्ता कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गरिँदै आएको छ।

Leave A Reply

Your email address will not be published.