मधेशसमाचार

बहुदरमाई नगरपालिकाको सडक ठेक्कामा भ्रष्टाचार : ३ जनाविरुद्ध आरोपपत्र दायर

पर्सा , १० पौष

जिल्ला पर्साको बहुदरमाई नगरपालिकामा सडक मर्मत ठेक्कामा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफा, जन प्रतिबिम्ब दैनिकका प्रकाशक/प्रधानसम्पादक संजय कुमार साहसहित ३ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

आयोगका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा स्वीकृत वार्षिक योजना अन्तर्गत बैरिया प्रवेशद्वारदेखि नगरदाहासम्म सडक मर्मत तथा कालोपत्रे कार्यका लागि ठेक्का प्रक्रिया सञ्चालन गर्दा सार्वजनिक खरिद ऐन, २०६३ विपरीत सूचना लुकाई सीमित व्यक्तिलाई फाइदा पुग्ने गरी ठेक्का दिइएको थियो।

अनुसन्धानबाट ठेक्कासम्बन्धी बोलपत्र सूचना राष्ट्रिय वा स्थानीयस्तरका पत्रिकामा प्रकाशन गर्नुपर्नेमा नगरी जन प्रतिबिम्ब दैनिकको एक प्रति मात्र सूचना छापिएको, त्यससमेत अभिलेखमा मात्र राखी सार्वजनिक नगरिएको पाइएको छ। झुट्टा बिल र भरपाईका आधारमा जन प्रतिबिम्ब दैनिकलाई रु. ६५ हजार भुक्तानी गरिएको आयोगको दाबी छ।

यस प्रकरणमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफा, सह-लेखापाल उपेन्द्र कुमार साह र जन प्रतिबिम्ब दैनिकका प्रकाशक/प्रधानसम्पादक संजय कुमार साहले आपसी मिलेमतोमा गैरकानूनी लाभ लिएको र नगरपालिकालाई आर्थिक हानी पुर्‍याएको ठहर गरिएको छ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार दोषी ठहर भएमा बिगो रु. ६५ हजार असुल उपर गरी कैद तथा जरिवानाको सजाय मागदाबी गरेको छ।

आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीका अनुसार उक्त मुद्दा विशेष अदालत काठमाडौंमा दायर गरिएको हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button