बारा, १० पौष
बंगलादेशमा अल्पसंख्यक हिन्दु समुदायमाथि भइरहेको हिंसा र पछिल्लो पटक एक हिन्दु युवकको हत्या गरिएको घटनाको विरोधमा बुधबार रौतहटको सदरमुकाम गौर र पर्साको वीरगंजमा विरोध प्रदर्शन गरिएको छ।
हिन्दु सम्राट सेनाको नेतृत्वमा गौरमा आयोजित प्रदर्शनमा स्थानीय हिन्दुवादी संघसंस्था, युवा तथा सर्वसाधारणको सहभागिता रहेको थियो। प्रदर्शनकारीहरूले बंगलादेश सरकारविरुद्ध नाराबाजी गर्दै अल्पसंख्यक समुदायको सुरक्षा सुनिश्चित गर्न र घटनामा संलग्न दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्।
प्रदर्शनकारीहरूले “अल्पसंख्यकको जीवन सुरक्षित गर”, “मानवअधिकार उल्लङ्घन बन्द गर” र “नेपाल सरकारले कूटनीतिक पहल गरोस्” लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए। उनीहरूले बंगलादेशमा भइरहेको घटनालाई मानवताविरोधी भन्दै अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन नेपाल सरकार सक्रिय हुनुपर्ने माग गरेका छन्।
उक्त प्रदर्शन गौर बजारका विभिन्न भाग परिक्रमा गरी शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो। प्रदर्शनका क्रममा कुनै अप्रिय घटना हुन नदिन स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको थियो।
यसैबीच, पर्साको वीरगंजमा पनि बंगलादेशमा भएको घटनाको विरोधमा प्रदर्शन गरिएको छ। विश्व हिन्दु परिषद् नेपाल महिला विभागको अगुवाइमा ठाकुरराम बहुमुखी क्याम्पस अगाडिबाट सुरु भएको विरोध जुलुस आदर्शनगर, माईस्थान हुँदै घण्टाघर चोक परिक्रमा गरी जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर कोणसभामा परिणत भएको थियो।
प्रदर्शनपछि पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई सम्बोधन गरिएको ज्ञापनपत्र बुझाइएको छ। ज्ञापनपत्रमा बंगलादेशका ३० वर्षीय हिन्दु युवक दीपुचन्द्र दासको हत्या घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन, दोषीमाथि कडा कारबाही, पीडित परिवारलाई न्याय तथा बंगलादेशमा रहेका हिन्दु अल्पसंख्यक समुदायको सुरक्षा सुनिश्चित गर्न कूटनीतिक पहल गर्न माग गरिएको छ।
साथै नेपाल सरकारले परराष्ट्र मन्त्रालयमार्फत औपचारिक विरोध जनाउनुपर्ने, अन्तर्राष्ट्रिय मानवअधिकार मञ्चहरूमा विषय उठाउनुपर्ने तथा सीमा क्षेत्रमा अवैध गतिविधि नियन्त्रण गर्न निगरानी कडा गर्नुपर्ने माग पनि ज्ञापनपत्रमा उल्लेख गरिएको छ।
पछिल्लो समय बंगलादेशमा अल्पसंख्यक समुदायमाथि भइरहेको घटनाप्रति नेपालमा व्यापक चासो र चिन्ता व्यक्त हुँदै आएको छ।