मिडिया काउन्सिल मधेस प्रदेशको गोष्ठीप्रति बाराका पत्रकारहरूको विरोध

20

कलैया , १० पौष

मिडिया काउन्सिल मधेस प्रदेशले आयोजना गरेको “सञ्चार माध्यमको अवस्था र चुनौती” विषयक एकदिवसीय गोष्ठी कार्यक्रमप्रति बाराका अधिकांश पत्रकारहरूले विरोध जनाएका छन्। कार्यक्रम आयोजना र व्यवस्थापन प्रक्रियामा पारदर्शिता नदेखिएको आरोप लगाउँदै पत्रकारहरूले आपत्ति जनाएका हुन्।

नेपाल पत्रकार महासंघ बारा शाखाका पूर्व सहसचिव संजय तिवारीले सामाजिक सञ्जाल फेसबुकमार्फत मधेस प्रदेशको मिडिया काउन्सिलले बजेट दुरुपयोग गर्न गोप्य कार्यक्रम आयोजना गरिएको आशंका व्यक्त गरेका छन्। उनले कार्यक्रमको संयोजन कसले गरेको, कति बजेट विनियोजन भएको, सहभागी संख्या तथा खर्च विवरण सार्वजनिक नगरिएको भन्दै आपत्ति जनाएका छन्। उक्त अभिव्यक्तिलाई समृद्धि अभियान राष्ट्रिय साप्ताहिकका प्रकाशक चन्देश्वर प्रसाद चौरसिया ( राजु चौरसिया) ले समर्थन जनाउँदै सेयर गरेका छन्।

त्यस्तै साझा निगरानी का प्रकाशन मानिकचन साहले नेपाल पत्रकार महासंघ बारा शाखाका अध्यक्ष रमेश सुवेदीसँग फोनमार्फत विरोध जनाएका छन्। महासंघ बारा शाखाका सदस्य धिरेन्द्र तिवारीले भने कार्यक्रम स्थलमै पुगेर विरोध प्रदर्शन गरेका थिए।

यसैबीच, कलैयामा आयोजित उक्त गोष्ठीलाई मधेस प्रदेश सरकारका पूर्व मुख्यमन्त्री जितेन्द्र सोनलले सम्बोधन गरेका छन्। प्रमुख अतिथि सोनलले केन्द्रमै सीमित स्रोत र साधनका कारण प्रदेश तथा स्थानीय तहका सञ्चार माध्यमहरू समस्यामा परेको उल्लेख गर्दै पत्रकारहरूको क्षमता अभिवृद्धि, सुरक्षा, तालिम र प्रविधिमा पहुँच सुनिश्चित गर्न संघीय संरचनाअनुसार अधिकार र स्रोत प्रदेश तथा स्थानीय तहमा हस्तान्तरण हुनुपर्ने बताए।

सोनलले स्वतन्त्र, उत्तरदायी र सशक्त पत्रकारिता लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै पत्रकारको पेशागत हकहित संरक्षण तथा आर्थिक र संरचनागत सशक्तीकरणमा राज्य गम्भीर हुनुपर्नेमा जोड दिए। उनले संविधानअनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन समयमै गराउनुपर्ने र निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउने दायित्व सरकारको भएको बताए। साथै पत्रकारहरूलाई निर्वाचनमैत्री वातावरण निर्माण हुने गरी सूचना सम्प्रेषण गर्न आग्रह गरे।

गोष्ठीमा मधेस प्रदेशमा सञ्चालित छापा, रेडियो, टेलिभिजन तथा अनलाइन सञ्चार माध्यमहरूले भोग्दै आएका समस्या र सुधारका सम्भावनाबारे छलफल भएको र उठेका विषयहरू सम्बोधन गर्न आफूले पहल गर्ने प्रतिबद्धता सोनलले जनाएका छन्।

Leave A Reply

Your email address will not be published.