मधेशसमाचार

पर्साको जगरनाथपुर गाउँपालिका बाट गाँजासहित भारतीय नागरिक पक्राउ

राजन कुमार बानिया

पर्सा, १० पुस

पर्सा प्रहरीले लागुऔषध गाँजा मोटरसाइकलसहित एक जना भारतिय नागरिकलाई पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ ।

विशेष सूचनाको आधारमा मिति २०८२ साल पौष ९ गते दिउँसो करिब २ः१५ बजे, जिल्ला पर्सा जगरनाथपुर गाउँपालिका–२ स्थित सडकखण्डमा यस कार्यालय मातहत इलाका प्रहरी कार्यालय जानकीटोला, पर्सा बाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा उक्त सफलता हात पारेको हो।

प्रहरी टोलीले जगरनाथपुरबाट जानकीटोला तर्फ आउँदै गरेको BR 22 BL 0632 नम्बरको मोटरसाइकल रोकी नियमित जाँच गरेको थियो। जाँचका क्रममा मोटरसाइकल चालकको शंकास्पद गतिविधि देखिएपछि कानुनी प्रक्रिया पूरा गरी शरीर खानतलासी गर्दा लागुऔषध गाँजा जस्तो देखिने पदार्थ ३ किलो १२० ग्राम (प्लास्टिकसहित) प्लास्टिकमा बेरेर शरीरमा लुकाई ल्याउँदै गरेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ पर्ने व्यक्ति भारत देश, विहार राज्य, पश्चिम चम्पारण जिल्ला, ग्राम नरकटिया वडा नं. ११ निवासी २६ वर्षीय सुमित कुमार रहेका छन्। अभियुक्तको साथबाट उक्त लागुऔषधसहित प्रयोग गरिएको मोटरसाइकल र भारु नगद २६ हजार ५ सय रुपैयाँ समेत बरामद गरी नियन्त्रणमा लिइएको छ।

प्रहरीले बरामद गरिएको लागुऔषध, मोटरसाइकल र नगदलाई प्रमाणका रूपमा राखी पक्राउ परेका व्यक्तिविरुद्ध लागूऔषध सम्बन्धी ऐनअनुसार मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।

प्रहरीका अनुसार लागुऔषध ओसारपसार तथा कारोबार नियन्त्रण गर्न जिल्लाभर नियमित निगरानी र चेकजाँचलाई थप कडा बनाइएको छ। यस्ता अवैध गतिविधिमा संलग्न जो–कोहीलाई पनि कानुनको दायरामा ल्याइने र कारबाही गरिने चेतावनीसमेत पर्सा प्रहरीले दिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button