कलैया , १४ पौष
केही दिनदेखि कुहिरो, हुस्सु र लगातार चलेको शीतलहरका कारण कैलालीसहित तराईका जिल्लाको जनजीवन कष्टकर बनेको छ। दिनभर बाक्लो कुहिरो र हुस्सुसँगै चलेको शीतलहरले कठ्याङ्ग्रिने जाडो बढेपछि सर्वसाधारणको दैनिकी प्रभावित भएको हो।
लगातारको हुस्सुका कारण बारा सहित मध्य तराईका जिल्लामा केही दिनदेखि घाम झुल्किन पाएको छैन। चिसो अत्यधिक बढेपछि मजदुर, विद्यालय जाने बालबालिका तथा वृद्धवृद्धा सबैभन्दा बढी प्रभावित भएका छन्। जाडोको सामना गर्न सर्वसाधारणलाई आगो ताप्न दाउराको अभाव देखिन थालेपछि स्थानीय तहहरूले डिभिजन वन कार्यालय सिमरासँगको सहकार्यमा विभिन्न स्थान तथा चौक–चौराहामा निःशुल्क दाउरा वितरण गरिरहेका छन्।
शीतलहरको प्रभाव बढेसँगै बारा, पर्सा र रौतहट जिल्लाका अधिकांश विद्यालयहरू बन्द गरिएका छन्। विद्यालय बन्द हुँदा पठनपाठन प्रभावित भएको छ भने दैनिक ज्यालादारीमा काम गर्ने मजदुरको आम्दानीसमेत घटेको छ।
बर्सेनि तराईका जिल्लामा देखिने शीतलहरको समस्याले यस वर्ष पनि जनजीवनलाई नराम्ररी प्रभावित बनाएको छ। पहाडी क्षेत्रमा पारिलो घाम लागिरहेका बेला तराईका जिल्लाहरू भने बाक्लो कुहिरो र हुस्सुले ढाकिएका छन्।
शीतलहरका कारण बढेको चिसोले कृषिमा पनि असर पुर्याएको छ। किसानका अनुसार आलु, तोरीलगायत हिउँदे बालीमा डढुवा रोग देखिन थालेको छ। डढुवा रोगको संक्रमणबाट बाली जोगाउन किसानहरूले ढुसीनाशक विषादी छर्किन थालेका छन्। कलैया–१० का किसान राजु चौरसियाका अनुसार प्रत्येक सात–आठ दिनको फरकमा ढुसीनाशक विषादी छर्कन सके बाली जोगाउन सकिने बताउनुहुन्छ।
कृषि प्रविधिकहरूका अनुसार निरन्तरको चिसोका कारण रातिको तापक्रम तीन डिग्री सेल्सियसभन्दा तल झर्ने, आद्रता बढ्ने र शीत पर्ने अवस्था सिर्जना हुँदा ढुसी सक्रिय भई आलु, गोलभेँडा लगायतका बालीमा डढुवाको संक्रमण देखिने गर्दछ।
शीतलहर अझै केही दिन रहने सम्भावना रहेकाले स्थानीय प्रशासनले सतर्कता अपनाउन, न्यानो कपडाको प्रयोग गर्न तथा कृषकहरूलाई समयमै आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।