
कलैया, १४ पौष
कलैया उपमहानगरपालिकाको नगर स्तरीय विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ। नगरप्रमुख विनोद साहको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा बढ्दो शीतलहरका कारण नगरभित्र देखिन सक्ने सम्भावित जोखिम तथा त्यसको न्यूनीकरणका उपायबारे विस्तृत छलफल गरिएको थियो।
बैठकले शीतलहरबाट नागरिकलाई जोगाउन सार्वजनिक स्थानहरूमा आगो ताप्नका लागि सुकेको दाउरा वितरण गर्ने निर्णय गरेको छ। साथै, कलैयामा सञ्चालनमा रहेको निःशुल्क कपडा बैंकलाई शीतलहरको अवधिभर दैनिक रूपमा खुला राख्ने र आवश्यक सहयोग उपमहानगरपालिकाले उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
शीतलहरका कारण ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती महिला तथा विपन्न वर्ग बढी प्रभावित हुने भएकाले उनीहरूको सुरक्षाका लागि विशेष योजना निर्माण गर्ने निर्णय पनि बैठकले गरेको छ। यस अन्तर्गत न्यानो कपडा वितरण, अस्थायी आश्रयस्थलको व्यवस्था, आगो ताप्नका लागि सुरक्षित स्थानको पहिचान तथा स्वास्थ्य संस्थालाई उच्च सतर्क अवस्थामा राख्ने विषयमा सहमति भएको जनाइएको छ।
त्यसैगरी, नगरका वडा तहसम्म विपद् पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउने, स्वयंसेवक परिचालन गर्ने तथा चिसोका कारण लाग्ने रोगको रोकथामका लागि स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यले रेडियो जिङ्गल प्रसारण गर्ने निर्णयसमेत गरिएको छ।
बैठकमा कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साह, सुरक्षा निकायका प्रतिनिधि, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रहरी निरीक्षक दिलिप कुमार थापा, स्वास्थ्य शाखाका प्रतिनिधि, वडा अध्यक्षहरू तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
उपमहानगरपालिकाले शीतलहरको प्रभाव कम गर्न आवश्यक सबै तयारी अवस्थामा रहेको जनाउँदै नागरिकहरूलाई चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।



