
कलैया, १५ पौष
बारा जिल्लाको कलैया उपमहानगरपालिका क्षेत्रमा अत्यधिक चिसो बढ्दै गएपछि विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै १८ गते शुक्रबारसम्म जाडो बिदा थप गरिएको छ। अभिभावकहरूको निरन्तर आग्रह र चिसोको प्रभाव बढेको अवस्थालाई ध्यानमा राखी कलैया उपमहानगरपालिकाले उक्त निर्णय गरेको हो।
कलैया उपमहानगरपालिकाका नगरप्रमुख विनोद साहका अनुसार पछिल्ला केही दिनदेखि बढेको शीतलहर, बाक्लो कुहिरो र चिसो हावाका कारण विशेषगरी बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीहरू बढी प्रभावित भएका छन्। यही अवस्थालाई मूल्यांकन गर्दै नगरभित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरूमा लागू हुने गरी जाडो बिदा थप गर्ने निर्णय गरिएको उनले जानकारी दिएका छन्।
नगरप्रमुख साहले बालबालिकाको स्वास्थ्य पहिलो प्राथमिकता भएको उल्लेख गर्दै चिसोको अवस्था सामान्य नहुन्जेलसम्म आवश्यक परे थप निर्णय लिन सकिने संकेत पनि गरेका छन्। साथै, अभिभावकहरूलाई घरमै बालबालिकालाई न्यानो कपडा लगाउने, तातो खानेकुरा खुवाउने र स्वास्थ्यप्रति विशेष ध्यान दिन आग्रह समेत गरेका छन् ।
उपमहानगरपालिकाले चिसोका कारण उत्पन्न हुन सक्ने स्वास्थ्य जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायहरूसँग समन्वय गर्दै आवश्यक तयारीसमेत गरिरहेको जानकारी नगरप्रमुख साहले दिएका छन्। मौसम अनुकूल भएमा विद्यालय सञ्चालनसम्बन्धी अर्को सूचना जारी गरिने उपमहानगरपालिकाले स्पष्ट पारेको छ।
अत्यधिक चिसोका कारण दैनिक जनजीवन प्रभावित भइरहेका बेला नगरपालिकाको यस निर्णयलाई अभिभावक र स्थानीयवासीले सकारात्मक रूपमा लिएका छन्।



