मधेशसमाचार

जनमत पार्टी बाराद्वारा पौष १७ गते राष्ट्रिय पोशाक (धोती) दिवस मनाइने

कलैया, १५ पौष
जनमत पार्टीको केन्द्रीय सर्कुलरअनुसार यस वर्ष पनि पौष १७ गते बिहीबार राष्ट्रिय पोशाक (धोती) दिवस मनाइने भएको छ। हरेक वर्ष जनवरी १ तारिखका दिन देशभरका जिल्ला सदरमुकाममा यो कार्यक्रम आयोजना गरिँदै आएको छ।
जनमत पार्टी बारा जिल्लाले जारी गरेको सूचनाअनुसार पौष १७ गते बिहान ८ बजे कलैयास्थित जिल्ला पार्टी कार्यालयमा धोती दिवस कार्यक्रम आयोजना गरिनेछ। कार्यक्रममा पार्टीका केन्द्रीय, प्रदेश, जिल्ला तथा स्थानीय तहका पदाधिकारी र कार्यकर्ताहरूको सहभागिता रहने जनाइएको छ।
जिल्ला ईन्चार्ज शिवनाथ पटेलद्वारा जारी सूचनामा जनमत पार्टी बाराका सम्पूर्ण केन्द्रीय कार्यकारिणी सदस्य, राजनीतिक समिति सदस्य, केन्द्रीय सदस्य, राष्ट्रिय परिषद् सदस्य, मधेस प्रदेश समिति सदस्य, जिल्ला समन्वय समिति सदस्य, पालिका अध्यक्ष, भातृ तथा शुभेच्छुक संगठनका प्रमुखलगायत अगुवा नेताकार्यकर्तालाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ।
सूचनामा सहभागीहरूलाई आ–आफ्नो पहिचान, संस्कृति र मौलिकता झल्कने गरी धोती–कुर्ता लगाएर कार्यक्रममा सहभागी हुन आग्रह गरिएको छ। राष्ट्रिय पोशाक दिवसको उद्देश्य मधेसको सांस्कृतिक पहिचान संरक्षण, परम्परागत पोशाकको प्रवर्द्धन तथा सामाजिक सद्भाव अभिवृद्धि गर्नु रहेको जनमत पार्टीले जनाएको छ।
आयोजकका अनुसार धोती दिवस कार्यक्रममार्फत आफ्नो भाषा, संस्कृति र पहिचानप्रति गर्व गर्ने सन्देश प्रवाह गर्नुका साथै भावी पुस्तालाई सांस्कृतिक चेतनाबारे जागरुक गराउने लक्ष्य रहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button