सिम्रौनगढ नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको पदभार ग्रहण

130

कलैया, १६ पौष

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यही शुक्रबार सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपसचिव राधा देवकोटा उपाध्यायको सरुवा गरेपछि नगरपालिकामा नयाँ निमित्त प्रमुख प्रशासकीय अधिकृत नियुक्त गरिएको छ।

मन्त्रालयको निर्णयअनुसार सिम्रौनगढ नगरपालिकामा कार्यरत कर्मचारीहरूमध्ये जेष्ठताको आधारमा आठौं तहका अधिकृत बिरबहादुर साह लहेरालाई आर्थिक कारोबारको जिम्मेवारीसहित निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी प्रदान गरिएको हो।

नवनियुक्त निमित्त प्रमुख प्रशासकीय अधिकृत साहले बुधबार औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्। पदभार ग्रहण कार्यक्रममा सिम्रौनगढ नगरपालिकाका नगरप्रमुख किशोरी प्रसाद कलवार, अन्य जनप्रतिनिधिहरू तथा नगरपालिका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै नगरप्रमुख कलवारले साहको प्रशासनिक अनुभव र कार्यक्षमताको प्रशंसा गर्दै नगरपालिकाको सेवा प्रवाह, वित्तीय अनुशासन र विकास निर्माणका कार्यलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।

निमित्त प्रमुख प्रशासकीय अधिकृत साह यसअघि आर्थिक वर्ष २०८१/०८२ मा रौतहट जिल्लाको कटहरिया नगरपालिकामा पनि निमित्त प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्य गर्दै आफ्नो कुशल प्रशासनिक क्षमता देखाइसकेका छन्। त्यहाँ रहँदा उनले आर्थिक व्यवस्थापन, सेवा प्रवाह सुधार तथा आन्तरिक प्रशासन सुदृढीकरणमा उल्लेखनीय योगदान पुर्‍याएको बताइन्छ।

अनुभवी र कुशल प्रशासकीय अधिकृतका रूपमा चिनिएका साहको नेतृत्वमा सिम्रौनगढ नगरपालिकाको प्रशासनिक कार्य थप प्रभावकारी, पारदर्शी र जनमुखी हुने अपेक्षा स्थानीय जनप्रतिनिधि तथा कर्मचारीहरूले व्यक्त गरेका छन्।

Leave A Reply

Your email address will not be published.