
जनकपुरधाम , १६ पौष
मुख्यमन्त्री कृष्ण यादवले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेसँगै मधेस प्रदेश सरकारले पूर्णता पाएको छ। सरकार गठन भएको करिब एक महिनापछि मुख्यमन्त्री यादवले थप ६ जना मन्त्रीलाई मन्त्रिपरिषद्मा सामेल गर्दै सरकारलाई पूर्ण आकार दिएका हुन्।
नवीन विस्तारसँगै मुख्यमन्त्रीसहित मधेस प्रदेश सरकार १२ सदस्यीय बनेको छ। मन्त्रिपरिषद् विस्तारसँगै प्रदेश सरकारको प्रशासनिक तथा विकासात्मक कार्य थप गति लिने अपेक्षा गरिएको छ।
नवनियुक्त मन्त्रीहरूले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। शपथ ग्रहण समारोहमा मुख्यमन्त्री कृष्ण यादव, प्रदेश सरकारका मन्त्रीहरू, प्रदेशसभा सदस्यहरू तथा उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।
मन्त्रिपरिषद् विस्तारअनुसार मनिष सुमनले श्रम तथा यातायात मन्त्रालय, राजकुमार गुप्ताले भौतिक पूर्वाधार विकास मन्त्रालय, शंकरप्रसाद चौधरीले वन तथा वातावरण मन्त्रालय, श्यामप्रसाद पटेलले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, वसन्त कुशवाहाले खेलकुद तथा समाज कल्याण मन्त्रालय र फकिरा महतोले गृह, सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन्।
मुख्यमन्त्री यादवले मन्त्रिपरिषद् पूर्णतासँगै प्रदेश सरकार अब नीति निर्माण, सेवा प्रवाह तथा विकास निर्माणका कार्यमा थप प्रभावकारी रूपमा अघि बढ्ने विश्वास व्यक्त गरेका छन्। साथै उनले प्रदेशवासीको अपेक्षा अनुरूप सुशासन, विकास र समृद्धिका लागि सरकार प्रतिबद्ध रहने बताएका छन्।



