
बारा, १८ पौष
मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जिल्ला प्रहरी कार्यालय बाराको मातहत कार्यरत प्रहरी जवान र प्रहवालदारदेखि वरिष्ठ हवालदारसम्मलाई निगरानीमा राखेको छ। यसै क्रममा, प्रहरी जवान सत्रुधन सहनीमाथि बिगत केही वर्षदेखि भ्रष्टाचार र तस्करीसँगको मिलेमतोको आरोप उठेको छ।
स्रोतका अनुसार सहनी २०७९ सालदेखि ईलाका प्रहरी कार्यालय सिम्रौनगढ, प्रहरी चौकी पथालवाघाट, प्रहरी चौकी अमृतगन्जखजानी लगायतका स्थानमा सदापोसाकको नाममा लगातार पैसा असुली गर्दै आएका छन्। बिगत चार वर्षदेखि एउटै क्षेत्रमा कार्यरत सहनीले आफू बसेको ठाउँको नाकाबाट हुने व्यापारिक र तस्करी सम्बन्धी गतिविधिमा सजिलै पैसाको माग गर्ने गरेको बताइएको छ।
स्रोतले बताएअनुसार, सहनीले आफ्नो सेवा अवधिमा केही प्रहरी अधिकृतहरूसँग पनि मासिक रूपमा ‘कोशेली’ लिन र बुझाउन गरेको प्रचलन रहेको छ। यसै कारण सहनीले चार वर्षदेखि एउटै स्थानमा रहँदै स्थानीय तस्करहरूसँग सम्बन्ध बलियो बनाएर सजिलै पैसा असुली गर्ने गरेको आरोप छ।
विशेषगरी, सहनीले प्रहरी निरीक्षक रबिभूषण यादवको कार्यकालमा गोलि काण्ड पछि केहि दिन जिल्ला प्रहरी कार्यालयमा तानिए पनि १५ दिनभित्रै ‘कोशेली’ दिएर पुनः प्रहरी चौकी अमृतगन्जखजानी फर्किएको स्रोतले जानकारी दिएको छ।
हाल सहनी आफ्नो कार्यालयका प्रमुख प्रहरी निरीक्षक किशुनदेव साह र मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख गोबिन्द थपलियासँग निकट सम्बन्ध रहेको दाबी गर्दै सार्वजनिक रूपमा गतिविधि गरिरहेको छ। स्रोतका अनुसार, सहनीले “मलाई कसैले केही गर्न सक्दैन” भनी हिडेका छन्, जसले प्रहरी संगठनभित्रको संरचनात्मक कमजोरी र भ्रष्टाचारलाई उजागर गर्छ।
प्रहरी स्रोतहरूले यस घटनालाई गम्भीर रुपमा लिइ सकेको बताएका छन् र मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सदर इलाका प्रहरी कार्यालयहरूमा निगरानी र छानबिन बढाउने तयारी गरेको छ। तर सहनीको प्रभाव र स्थानीय तस्करहरूसँगको सम्बन्धले छानबिनमा चुनौती थपिरहेको छ।
यो घटनाले प्रहरी संगठनभित्रको सदापोसाक प्रणालीमा भइरहेको अनियमितता र व्यक्तिगत स्वार्थमा आधारित भ्रष्टाचारको चित्र देखाउँछ। साथै, सुरक्षा निकायमाथि जनविश्वास कायम राख्न तत्काल प्रभावकारी कदम चालिनुपर्ने आवश्यकतामा जोड दिन्छ।



