मधेशसमाचार

२५औँ सशस्त्र प्रहरी दिवसको अवसरमा रौतहटमा विपन्न परिवारलाई न्यानो कपडा वितरण

२५औँ सशस्त्र प्रहरी दिवसको अवसरमा रौतहटमा विपन्न परिवारलाई न्यानो कपडा वितरण

रौतहट , २० पौष

तराईमा बढ्दो अत्यधिक चिसो र शीतलहरलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपालले रौतहटको ईशनाथ नगरपालिकामा न्यानो कपडा वितरण गरेको छ । “२५औँ सशस्त्र प्रहरी दिवस २०८२” को अवसरमा आइतबार ईशनाथ न.पा. ४, रामनगर चमटोलमा आयोजित एक कार्यक्रमका बीच ७० विपन्न परिवारलाई कम्बल वितरण गरिएको हो । जिल्ला प्रशासन कार्यालय गौरको सहयोग तथा सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हेडक्वाटर रौतहटको समन्वयमा आयोजित उक्त कार्यक्रम वि.ओ.पी. रामपुर खापको सहकार्यमा सम्पन्न भएको हो ।

आइतबार बिहान सुरु भएको सो कार्यक्रममा रामपुर खाप वि.ओ.पी. प्रमुख सशस्त्र प्रहरी निरीक्षक स.प्र.नि. मन्दिरा सुवालको कमाण्डमा ९ जनाको टोली खटिएको थियो । न्यानो कपडा वितरण कार्यलाई पारदर्शी र व्यवस्थित बनाउन ईशनाथ नगरपालिकाका कार्यपालिका सदस्य हिरालाल राम र वडा नं. ४ का वडा सदस्य गगनदेव रामको विशेष उपस्थिति रहेको थियो ।

चिसोबाट अति प्रभावित रहेका रामनगर रामपुर र खाप टोलका ७० जना दलित अपाङ्गता भएका व्यक्ति तथा आर्थिक रूपले विपन्न परिवारलाई प्राथमिकतामा राखेर न्यानो कम्बल वितरण गरिएको हो । कठ्याङ्ग्रिँदो चिसोका बीच न्यानो कपडा पाएपछि स्थानीय बासिन्दाहरूले खुसी व्यक्त गरेका छन् ।

“विपद् व्यवस्थापन र नागरिकको जीउधनको सुरक्षासँगै सामाजिक उत्तरदायित्व वहन गर्नु सशस्त्र प्रहरीको धर्म हो । शीतलहरको समयमा गरिब र असहायको सारथी बन्न पाउँदा हामीलाई गर्व छ,” कार्यक्रमको नेतृत्व गरिरहनुभएकी स.प्र.नि. मन्दिरा सुवालले बताइन् ।

स्थानीय जनप्रतिनिधि र सर्वसाधारणले सशस्त्र प्रहरीको यस मानवीय कार्यको उच्च प्रशंसा गरेका छन् । विपद्का समयमा सधैँ अग्रपङ्क्तिमा उभिने सशस्त्र प्रहरीले यस्ता सामाजिक कार्यमार्फत जनतासँगको सम्बन्ध अझ प्रगाढ बनाउँदै लगेको स्थानीयको बुझाइ छ । कार्यक्रममा उपस्थित आम जनताले सशस्त्र प्रहरी बल नेपाललाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै सहकार्यको अपेक्षा राखेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button