कलैया, २० पौष
“सांकेतिक भाषाको अधिकार बिना मानव अधिकार सम्भव छैन” भन्ने मूल नाराका साथ राष्ट्रिय बहिरा महासंघ नेपालद्वारा आयोजित राष्ट्रिय भेला तथा २९औँ वार्षिक साधारणसभा बाराको कलैयामा भव्य रूपमा सम्पन्न भएको छ।
देशभरका ५५ जिल्लाबाट आएका बहिरा समुदायका प्रतिनिधिहरूको सहभागितामा कलैयाको करण राज प्यालेसमा कार्यक्रम आयोजना गरिएको हो। भेलाको अवसरमा बिहीबार बिहान नगर परिक्रमा सहित अधिकारसम्बन्धी जनचेतनामूलक र्याली सम्पन्न गरिएको थियो।
र्यालीमा बहिरा समुदायका सदस्यहरू, अधिकारकर्मी, सामाजिक अभियन्ता, स्थानीय जनप्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले सांकेतिक भाषाको व्यवहारिक कार्यान्वयन, शिक्षा, स्वास्थ्य, रोजगारी र सार्वजनिक सेवामा समान पहुँच तथा नीति निर्माणका सबै तहमा बहिरा समुदायको सहभागिता सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।
र्यालीका क्रममा बहिरा समुदायलाई केवल अपाङ्गताको दृष्टिले होइन, स्वतन्त्र भाषा र संस्कृतिको रूपमा स्वीकार गर्नुपर्ने सन्देश दिइएको थियो।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति बाराका प्रमुख नरेन्द्र साहले संविधान र कानुनमा सुनिश्चित गरिएका बहिरा अधिकारहरू कार्यान्वयनमा कमजोर देखिएको उल्लेख गर्दै स्थानीय तहदेखि संघीय सरकारसम्म स्पष्ट नीति, पर्याप्त बजेट र प्रभावकारी कार्यक्रम आवश्यक रहेको बताए।
राष्ट्रिय बहिरा महासंघ नेपालका केन्द्रीय अध्यक्ष सन्तोष केशीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा कलैया उपमहानगरपालिकाका मेयर विनोद साह, जितपुर–सिमरा उपमहानगरपालिकाका उपमेयर भोला अधिकारी, प्रसौनी गाउँपालिकाका अध्यक्ष विनोद जयस्वाल, बारागढी गाउँपालिकाका अध्यक्ष अशोक जयस्वाल, विश्रामपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल केशरी, परवानीपुर गाउँपालिकाका उपाध्यक्ष तथा वडा अध्यक्षहरू, अपाङ्ग संघ बारा, प्रहरी प्रशासन, राष्ट्रिय अपाङ्ग महासंघ, राष्ट्रिय सांकेतिक भाषा दोभाषे संघ, पत्रकार महासंघ तथा मधेस प्रदेशका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
आयोजकका अनुसार उद्घाटन सत्रपछि बन्द सत्र सुरु गरिएको छ। यस्ता कार्यक्रमले बहिरा समुदायप्रति समाजको सोच परिवर्तन गर्न र अधिकार सुनिश्चिततामा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको आयोजकले जनाएको छ।