स्रोत नखुलेको १० लाख दुई हजार दश रुपैयाँसहित तीन जना पक्राउ

पर्सा , २० पौष

जिल्ला प्रहरी कार्यालय पर्साले स्रोत नखुलेको १० लाख २ हजार १० रुपैयाँ नगदसहित तीन जनालाई पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा शुक्रबार जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा सवारी चेकजाँच तथा निगरानीका क्रममा शंकास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिई जाँच गर्दा उक्त रकम बरामद गरेको हो।

पक्राउ पर्नेमा सखुवा प्रसौनी गाउँपालिका–४, देवकानामा बस्ने वर्ष २२ का पवन कुमार साह, वर्ष ३० का मुस्ताक अन्सारी, वर्ष १९ का रामपुकार पासवान रहेका छन्।

पक्राउ परेका व्यक्तिहरूको साथबाट नगद रु. १० लाख दुई हजार दश रुपैयाँ तथा ना.५८ प ३०२० नम्बरको NXG Splender मोटरसाइकल समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

उक्त रकमको स्रोत खुल्न नसकेपछि प्रहरीले मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ (क) अनुसार (हुन्डी सम्बन्धी कारोबार गर्न नहुने) कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाएको छ। पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ तथा बरामदगीको घटना पर्सा जिल्लाको जगन्नाथपुर गाउँपालिका–३, गढ्याटोलस्थित सडकखण्डमा भएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साले अवैध आर्थिक कारोबार, हुन्डी तथा गैरकानुनी गतिविधिविरुद्ध कडाइका साथ निगरानी र कारबाही जारी रहने जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *