बारा , २१ पौष
बारामा सञ्चालित रिलायन्स सुगर एण्ड केमिकल इन्डस्ट्रिजको गैरजिम्मेवार व्यवहारका कारण बारा जिल्लाका उखु किसान गम्भीर समस्यामा परेका छन्। आफ्नै जिल्लाका किसानलाई उखु बिक्री तथा ढुवानीका लागि आवश्यक चलान नदिइँदा किसानको उखु खेतमै सुक्ने जोखिम बढ्दै गएको हो।
कलैया उपमहानगरपालिका–२४, श्रीपुरमा रहेको उक्त चिनी मिलले बारा जिल्लाका किसानलाई बेवास्ता गर्दै पर्सा र रौतहट जिल्लातर्फ उखु चलान दिने गरेको किसानहरूको आरोप छ। उद्योग बारा जिल्लामै स्थापना भए पनि स्थानीय किसानलाई प्राथमिकता नदिइएको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका छन्।
किसानहरूका अनुसार महिनौँको मेहनतपछि उत्पादन भएको उखु समयमै बिक्री हुन नसके खेतमै बिग्रिने अवस्था सिर्जना भएको छ। “उद्योग हाम्रो जिल्लामै छ, तर उखु बेच्न बाहिरका जिल्लालाई सहजता दिइन्छ, हामीलाई भने चलान दिइँदैन,” एक किसानले गुनासो गरे। उखु बिक्री हुन नसकेपछि बैंकको ऋण तिर्न, मल–बीउको खर्च उठाउन र परिवारको दैनिक गुजारा चलाउन समेत कठिन भइरहेको किसानहरूको भनाइ छ।
किसानहरू भन्छन्, उखु रोपाइँ र बीउ वितरणका बेला मिलले विभिन्न आश्वासन र प्रलोभन देखाउने, तर उखु तयार भई बिक्रीको समय आएपछि चलान नदिएर पन्छिने प्रवृत्ति देखिएको छ। “रोपाइँ गर्ने बेला मिलले नै उखु लगाउन प्रेरित गर्छ, तर काट्ने बेला अर्कै जिल्लालाई प्राथमिकता दिनु अन्याय हो,” उनीहरूको आक्रोश छ।
स्थानीय किसानहरूले उखु खेतमै नोक्सान भए यसको जिम्मेवारी कसले लिने ? भन्दै प्रश्न उठाएका छन्। उद्योग नाफामा केन्द्रित हुँदा किसानको जीवन भने अन्योलमा परेको उनीहरूको गुनासो छ। समयमै समस्या समाधान नभए आन्दोलनमा उत्रिने चेतावनी समेत किसानहरूले दिएका छन्।
यता, रिलायन्स सुगर मिलबाट निस्किने फोहर तथा प्रदूषित पानीले मानव बस्ती दुर्गन्धित बनाएको भन्दै स्थानीयवासीको विरोध चर्कँदै गएको छ। मिलबाट निस्किएको फोहर पानी ब्राह्मपुरी, बन्जरिया, बेलहिया, गोइँठही, भलुही, मंगढवा र अकवनिया हुँदै त्रिवेणीको दुधौरा नदीमा मिसिने बंगरी नदीलाई गम्भीर रूपमा प्रदूषित बनाइरहेको स्थानीयहरूको आरोप छ।
प्रदूषणका कारण मानव स्वास्थ्य र वातावरणमा दीर्घकालीन नकारात्मक असर पर्ने खतरा बढे पनि मिल सञ्चालक तथा सम्बन्धित निकाय मौन बसेको स्थानीयहरूको गुनासो छ। यथाशीघ्र चिनी मिलबाट निस्किने प्रदूषित पानी नियन्त्रण नगरे कडा आन्दोलनमा उत्रिने चेतावनी समेत स्थानीयवासीले दिएका छन्।
यस विषयमा जिल्ला प्रशासन कार्यालय बारासहित सम्पूर्ण सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण आवश्यक रहेको स्थानीय किसान र बासिन्दाहरूले माग गरेका छन्।